काठमाण्डौ । चुक्तापूँजी र शाखा सञ्जालको हिसाबले आफूलाई देशकै अग्रणी बैंक भन्दै आएको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले यूरोप विजिनेश एसेम्ब्लीबाट ‘बेस्ट इन्टरप्राइजेज अवार्ड’ पाएको छ । 

यो अवार्ड पाउने भिबोर सोसाइटी बैंक देशकै पहिलो बैंक बन्न सफल भएको छ । 

बैंकका सीइओ झलकप्रसाद खनालले सोही अवसरमा वर्षकै उत्कृष्ट मेनेजरको अवार्ड समेत हात पारेका छन् । 

यूरोप विजिनेश एसेम्ब्ली ६० भन्दा बढी देशहरु सदस्य र साझेदार रहेको यूरोपियन संस्था हो । हालै लण्डनको अक्सफोर्डमा आयोजित एक समारोहका बीच भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका संचालक समिति अध्यक्ष सुशीलराज पराजुली र सीइओ खनालले ती अवार्डहरु ग्रहण गरेका थिए । 

तत्कालीन अवस्थामा समस्याग्रस्त भई कोल्याप्स हुने अवस्थामा पुुगेको भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक लिमीटेडलाई सफलतापूर्वक मर्ज गरी संस्थालाई निकै सुन्दर ढंगले समस्याको घेराबाट बाहिर निकाली स्थापित गराउन सफल भएका कारण आफूहरुलाई यो अवार्डका लागि छनौट गरिएको हुनसक्ने बैंकका अध्यक्ष पराजुलीले बताए । ‘समस्याग्रस्त भई झण्डै झण्डै कोल्याप्स हुन लागेको बैंकलाई केही समयको अथक प्रयासमा देशकै नम्बर वान विकास बैंक बनाउन सफल भएका सबै घटनाक्रमलाई यूरोप विजिनेश एसेम्ब्लीले नियालिरहेको रहेछ ।’ उनले भने–‘हामीलाई त सो अवार्डका लागि निम्ता आउँदा मात्र थाहा भयो ।’ 

तत्कालीन भिबोर विकास बैंकलाई समस्याको दलदलबाट बाहिर निकालेर कुशल व्यवस्थापन हाँकी मर्जरपछिको बैंकलाई देशकै टप विकास बैंक बनाउनसक्ने क्षमताका कारण बैंकको सीइओ खनाललाई सन् २०१६ का लागि मेनेजर अफ दि इयरको अवार्ड दिइएको अध्यक्ष पराजुलीले जानकारी दिए । 

बैंकको तर्फबाट मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पराजुली र सीइओ खनालले आफूहरुले प्राप्त गरेको अवार्ड तथा सर्टिफिकेट समेत प्रस्तुुत गरेका थिए । यो अवार्ड यो वर्ष नेपालको यही बैंकले र सीइओ खनालले मात्र प्राप्त गरेका सो क्रममा जानकारी दिइयो । 

पत्रकार सम्मेलनको बैंकका सीइओ खनालले आफूहरुको सफलताको कथाबाट प्रभावित भएरै यो अवार्डका लागि छनौट गरिएको लण्डन पुुगेर थाहा पाएको बताए । लण्डनस्थित अवार्ड समारोहमा बैंकको सफलताको कथाको बिषयमा सीइओ खनालले प्रस्तुती दिएका थिए । 

अवार्डपछि जिम्मेवारी र चुनौति दुवै थपिएको उल्लेख गर्दै खनालले आगामी दिनमा बैंकलाई निर्विकल्प नम्बर वान विकास बैंक बनाइने उद्घोष गरे । ‘हामी अहिले पनि चुक्तापूँजी, शाखा सञ्जाल, कस्टमर बेसको हिसाबले देशको नम्बर वान विकास बंैकको रुपमा छौ ।’ उनले थपे–‘अब सबै हिसाबले नम्बर वान बन्ने कोशिश गर्नेछौ ।’ उनले सो क्रममा बैंकलाई अझ प्रगतिपथमा लगी लगानीकर्तालाई आगामी दिनमा उच्च प्रतिफल दिने घोषणा समेत गरे । 

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ८२ करोड रुपैयाँ छ भने देशभर ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउण्टर रहेका छन् ।