काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक इतिहासको पानामा सीमित हुने पक्का भएको छ। 

यो बैंकको बिहीबार सम्पन्न नवौं वार्षिक साधारणसभाले लुम्बिनी फाइनान्स एण्ड लिजिंग कम्पनी लिमीटेडलाई गाभ्दै बन्ने नयाँ विकास बैंकको नाम लुम्बिनी विकास बैंक राख्ने प्रस्ताव पारित गरेसँगै भिबोर र सोसाइटी डेभलपमेन्ट बैंकको मर्जपछि बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंक इतिहासमा सीमित बन्ने पक्का भएको हो । 

भिबोर सोसाइटी र लुम्बिनी फाइनान्स आपसमा गाभिएपछि बन्ने बैंकको चुक्तापुँजी २ अर्ब ३७ करोड १८ लाख रुपैयाँको उचाईमा पुुग्नेछ । मर्जरपछि कायम हुने यो चुक्तापुँजीको १० प्रतिशतको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । १० प्रतिशत हकप्रद बिक्रीपछि लुम्बिनी विकास बैंकको चुक्तापुँजी राष्टबैंकले तोके अनुसार २ अर्ब ५० करोड माथि पुुग्ने बताइएको छ । 

हाल भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको कुल निक्षेप रु. १५ अर्व ६ करोड र कर्जा रु. १३ अर्व ५६ करोड रहेको छ भने यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २२ करोड खुद मुनाफा गर्न सफल भएको छ । त्यसैगरी, बंैकका ४४ शाखा र १२ वटा एटीएम रहेका छन् ।