काठमाण्डौ । नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतीय प्रणालीमार्फत सहज बनाउन स्वीट्जरल्याण्डमो बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ । 

बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ । 

स्मार्ट भिस्टाले विश्वका कैयन बैंक तथा बित्तीय संस्थाहरुको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको छ । 

राजधानीमा आयोजित एक कार्यक्रममा बीपीसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एशिया प्याशेफिकका प्रबन्ध निर्देशक राजन एस नारायणले सो प्रविधिका बारेमा जानकारी गराए । 

उनले भने, ‘स्मार्ट भिस्टाले अहिलेको समाजलाई क्यास लेस समाजमा रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।’ उनकाअनुसार समग्र क्षेत्रका संस्थाहरु डिजिटल बैंकिङ प्रणालीमा आवद्ध भएर लाभान्वित हुन सक्नेछन् । यसले ब्यापार र समग्र क्षेत्रको भुक्तानीलाई सहज बनाउनेछ। 

बीपीसी बैंकिङ टेक्नोलोजीको स्थापना सन् १९९५ मा भएको हो । जसको नेपाल साझेदारका रुपमा सन २००७ मा स्थापना भएको आइमार्क प्रालि रहेको छ । जसले हालसम्म नेपालका करिब ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुलाई विविध रुपमा क्यासलेस सोसाइटीको निमार्णमा सहजीकरण गर्दै आएको छ । 

बीपीसी बैंकिङ टेक्नोलोजीको स्मार्ट भिस्टा एटिएम स्वीच विश्वका ७३ भन्दा बढी देशका दुई सय भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुले प्रयोग गर्दै आईरहेका छन् । 

सो अवसरमा आइमार्क प्रालिका प्रबन्धनिर्देशक रामप्रसाद ढुंगानाले विश्वसनीय भुक्तानी माध्यमका रुपमा सेवा दिन र सेवा पछि पनि बलियो सम्बन्ध विस्तारका लागि आइमार्क कटिवद्ध रहेको बताए ।

आइमार्कले नेपालको बैंकिङ क्षेत्रलाई डिजिटलाइज गराउन विगत एघार वर्षदेखि एकदर्जन बढी वाणिज्य बैंकहरुसँग सहकार्य गर्दै आइरहेको छ ।