काठमाण्डौ । नेपाल राष्ट्रबैंकले भुक्तानी सम्बन्धी कारोबारको सीमा बढाएको छ । 

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धी कार्य गर्ने सम्बन्धित सबै संस्थाहरुको नाममा एक सर्कुलर जारी गर्दै कारोबारको सीमा बढाइएको प्रष्ट पारेको हो । 

पुरानो व्यवस्था संसोधनसँगै अब मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको सीमा बढेको छ । 

राष्ट्रबैंकले मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरेको छ । 

विद्युतीय माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको सीमा यस अघि १५ हजारमात्रै राखिएको थियो । साथै, कारोबारको विल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक रुपमा १ लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्न नपाइने व्यवस्था गरिएको छ । यसअघि यस्तो सीमा रु ५० हजारसम्म मात्र थियो।

मोबाइल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यसै अनुसार गर्नुपर्नेछ ।

यसैगरी, इन्टरनेट बैंकिङको माध्यमबाट भुक्तानी कारोबार(मर्चेन्ट पेमेन्ट) गर्दाको सीमा केन्द्रीय बैंकले १० गुणाले बढाएर प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्म पुर्याएको छ । यस्तो सीमा यसअघि रु. १ लाखमा सीमित थियो । तर, मासिक रुपमा भने ३० लाख रुपैयाँभन्दा बढीको इन्टरनेट बैंकिङको माध्यमबाट भुक्तानी गर्न पाइनेछैन । 

यस्तै, इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ । यो सीमा यसअघि एकलाख रुपैयाँमा सीमित थियो । यस्तो ट्रान्सफर  मासिक रूपमा अधिकतम ५० लाख रुपैयाँमा सीमित गरिएको छ ।
राष्ट्रबैंकले प्रिपेड कार्डबाट नेपालभित्र मासिक रूपमा जतिसुकै नगद भिक्न सकिने व्यवस्था गरेको छ । तर, ग्राहकले प्रतिकारोबार न्यूनतम ५०० रूपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्म प्रिपेड कार्डबाट नगद झिक्न पाउनेछन् । 

राष्ट्र बैंकले क्रेडिट कार्डबाट नगद झिक्ने सीमालाई घटाएर स्वीकृत सीमा रकमको १० प्रतिशत राखेको छ ।  सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भन्दै केन्द्रीय बैंकले ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृति सीमा रकमको १० प्रतिशतम्म नगद झिक्न बाधा पुगेको नमानिने सर्कुलरमा उल्लेख छ । 

बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट वालेटमा, वालेटबाट बैंक खातामा, एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्दा प्रतिदिन २५ हजार रुपैयाँसम्म ट्रान्सफर गर्न पाइनेछ । तर, मासिक रुपमा अधिकतम ५० हजार भन्दा बढी ट्रान्सफर गर्न पाइनेछैन ।

भुक्तानी  सेवा प्रदायक संस्थाहरुले संचालन गरेका एटीएम जस्ता भुक्तानी उपकरणहरुबाट वस्तु वा सेवा खरीद गरेको बिल भुक्तानी गर्दा प्रतिदिन २५ हजार रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ । तर, मासिक रुपमा ५० हजार भन्दा बढीको कारोबार गर्न पाइनेछैन । 

केन्द्रीय बैंकबाट जारी सर्कुलर पढ्नुहोस्: