काठमाण्डौ । नेपाल टेलिकमले यही कात्तिक १४ गतेसम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । 

वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो । 

हालसम्म ५ नगरपालिका, ५ गाउँपालिका, ३ वडा कार्यालय, १५ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २७ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । 

कम्पनीले सो क्षेत्रमा जडान गरेको वाइम्याक्स बेस स्टेशनको संख्या ३० पुगेको छ । त्यसैगरी थ्रिजी डिभाइस १५ र इभिडिओको संख्या १० पुगेको छ । 

कम्पनीले उल्लिखित चार जिल्लाका नगरपालिका, गाउँपालिका, माध्यामिक विद्यालय, हेल्थ पोष्ट आदिमा सर्भिस प्वाइन्ट स्थापना गरी आवश्यकता अनुसार वाइम्याक्स, जिएसएम, सिडिएमए र एडिएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराएको हो । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क चलाउन पाउने छन् । कम्पनीले यी चार जिल्लाका अन्य भूकम्प प्रभावित क्षेत्रमा पनि इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक कार्य गरिरहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौता अनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो ।