काठमाण्डौ । आफूसँग पर्याप्त बजेट नहुँदा नयाँ कार किन्नुअघि अधिकांश मानिस सेकेण्ड ह्याण्ड कार खरीद गर्ने बिषयमा सोच्दछन् । तर, सेकेण्ड ह्याण्ड कार खरीदको समयमा तपाईले केही चिजहरुमा विशेष ध्यान राख्नुपर्ने हुन्छ,  किनभने तपाईले यो सजगता अपनाउनुभएन भने सेकेण्ड  ह्याण्ड कार खरीद गरेर ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । यहाँ तपाईलाई हामी यस्तै केही महत्वपूर्ण बिषयमा जानकारी दिन गइरहेका छौ, जसको बिषयमा तपाईलाई जानकारी भए सेकेण्ड ह्याण्ड कार खरीद गर्दा हुने नोक्सानीबाट बच्न सक्नुहुन्छ ।

यस्ता खराबी भए नोक्सानै नोक्सान
कारलाई चारैतर्फबाट जाँच गर्नुहोस् । यो क्रममा  कारमा गरिएको पेन्ट(लगाइएको पोलिस)  सबैतिर एकैखालको छ कि छैन राम्रोसँग हेर्नुहोस् । यदि कतै कारको रंग केही फरकजस्तो देखियो भने त्यसको अर्थ हुन्छ सो कार कुनै न कुनै दुर्घटनामा परेको थियो ।

यो क्रममा कारको ओडोमिटर पनि जाँच गर्न आवश्यक हुँन्छ । आम रुपमा ४० देखि ५० हजार किलोमिटर कुदेपछि कारको टायर परिवर्तन गरिन्छ । यसकारण टायरको थ्रेडलाई नजिकबाट हेर्नुहोस् ।

कारको इन्टेरियरमा समेत विशेष ध्यान दिनुहोस् । जस्तै, सिट कभर कस्तो छ, सिटको फेब्रिक सफा छ कि छैन भन्ने लगायतका बिषय ।

यो क्रममा कारका सबै ढोका खोल्नुहोस् र बन्द गर्नुहोस् । यो क्रममा कतै आवाज आउँछ कि आउँदैन यो बिषय पनि ध्यानपूर्वक हेर्नुहोस् ।

यसबाहेक ब्रेक, क्लच, पिकअप गियर, स्टेयरिङ लगायतलाई पनि जाँच गर्र्नुहोस, यी चिजहरुले राम्रो काम गरेको छ कि छैन हेर्नुपर्छ । 

खरीद गर्नुअघि एकपटक कारको टेस्ट ड्राइभ अवश्य गर्नुहोस् ।

कागजातको जाँच
कारका लागि ब्लुबुक सबैभन्दा महत्वपूर्ण कागजात हो । यसकारण ब्लुबुकलाई राम्रोसँग हेर्नुहोस् । यो क्रममा ब्लुबुकको फोटोकपी होइन,  ओरिजिनल कपी मात्र स्वीकार गर्नुहोस् । यसमा मोडल, सवभेरिएन्ट, मालिकको नाम, ठेगाना, दर्तानम्बर लगायतको बिषयमा समेत ध्यानपूर्वक हेर्नुपर्छ । ब्लुबुक र इन्स्योरेन्स पोलिसीमा लेखिएको कारको नम्बर समेत एउटै छ कि छैन हेर्नुहोस् । कागजातमा कारको उत्पादन मिति र दर्ता मिति समेत जाँच गर्नुहोस् । यदि यसमा केही कैफियत देखियो भने कारको मूल्यमा समेत यसले असर पार्छ । 

बिमामा गडबडी छ कि ?
कार खरीदको समयमा बिमासँग सम्बद्ध  कागजात समेत  हेर्नुपर्छ । इन्स्योरेन्स पोलिसी तपाईले कार खरीदको समयमा समेत भ्यालिड हुनुपर्छ । यो क्रममा बिमा पोलिसीमा मालिकको नाम जाँच गर्नुहोस्, यस अलावा चेसिस नम्बर तथा इञ्जिन नम्बर समेत जाँच गर्नुहोस् ।