काठमाण्डौ । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि १३ औं हस्तकला व्यापार मेला तथा ११ औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी शुरु भएको छ । 

नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला बैशाख २७ गतेसम्म सञ्चालन हुनेछ  ।

मेलामा ४५ भन्दा धेरै जिल्लाका स्थानीय हस्तकला सामाग्रीहरुको स्टल राखिएको छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, हीरा तथा अन्य धातु र अमूल्य रत्न जडित गरगहना, फेल्टका सामान ऊन तथा सुती एवम् ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । 

व्यापार मेलामा ६ वटा प्याभिलियन र १६० स्टल रहेका छन् । मेलाको तीन लाखले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

यसैबीच, १३ औं हस्तकला व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकको विकासको एजेण्डा नै औद्योगिकरण भएकाले यसका लागि उत्पादनमा जोड दिनुपर्ने बताए । उनले मुलुकको आर्थिक समृद्धिको मार्गमा डोहोर्याउने सेतु हस्तकलाको व्यापार  भएकाले यसलाई सरकारले प्रोत्साहित गर्ने बताए ।