रणध्वज लोहार
धरान । जब आकाश मडारिन थाल्छ, तब पूर्वको चर्चित पर्यटकीय गन्तव्य धनकुटाको भेडेटार पुगेकाहरुको फर्कने लर्को लाग्छ । भेडेटार पुग्ने बाह्य तथा आन्तरिक पर्यटकले सामान्य पानी पर्दा नै फर्कन हतार गर्नु पछाडिको मुख्य कारण धरान–धनकुटा सडकको निशाने खोला र आपगाछी बीचको सडकखण्ड भत्किनुु हो । 

गत साउन २८ गते यो ठाउँमा पहिरो गएपछि केही समय यो खण्ड बन्द भएको थियो । यो खण्डमा झरेको पहिरो पूर्ण रुपमा पन्छाएर सडकको भरपर्दो मर्मततर्फ सम्बद्ध निकायले ध्यान नदिंदा सामान्य पानी पर्दा नै सडक अवरुद्ध हुने गर्दछ । फेरि पहिरो थपिएर भेडेटारतर्फ थुनिने डरले पानी पर्न थालेपछि पर्यटकहरु घर फर्किने हतारोमा हुने होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाली बताउँछन् । 

उनका अनुसार यही सडकखण्डका कारण यसअघि दैनिक ५ सयदेखि १ हजारसम्म बाह्य तथा आन्तरिक पर्यटक घुम्न आउने भेडेटारमा अहिले मुश्किलले पनि दैनिक १ सय जना पुुग्दैनन् । जसका कारण यो क्षेत्रको पर्यटन व्यवसायमा चाडपर्वको मुखमा सन्नाटा छाएको छ ।  

यातायात मजदुर र व्यवसायीको पनि उस्तै पीडा छ । तेह्रथुम, खादवारी, राजारानी लगायतका ठाउँबाट धरानसम्मको गाडी भाडा लिएर यात्रु ल्याइन्छ । पहिरो खसेर सडक अवरुद्ध भयो भने फेरि यात्रुलाई गन्तव्यसम्म पुर्याउन नसक्दा समस्या भएको मजदूर र व्यवसायी बताउँछन् ।

सडककै दूरावस्थाका कारण धनकुटा, तेह्रथुम र राजारानी डाँडाबजार क्षेत्रबाट धरानतर्फ ढुवानी हुने हरियो तरकारी किसानको बारीमै कुहिन थालेको छ । पहाडी क्षेत्रका किसानको उत्पादनले एकातिर बजार पाउन सकेको छैन भने यही सडकका कारण धरान र तराईका अन्य बजारमा पहाडको कृषिजन्य उत्पादन पुुग्न नसक्दा महंगीले चुुचुुरो छोइसकेको छ । तर, बिडम्बना सबै क्षेत्रलाई तहसनहस बनाइदिएको सो सडकखण्डको भरपर्दो मर्मतको बिषयमा सडक विभागले भने चासो नदिएको आरोप लागेको छ । 

धरान उपमहानगरपालिकाको निसाने खोलादेखि आँपगाछीसम्मको सडकखण्ड केही वर्षदेखि नै जोखिममा रहेको भन्दै सडक विभागले चिन्ह लगाएर त्यत्तिकै छाडेको थियो । बेलैमा बनाएको भए यस्तो अवस्था नआउने बताउँछन होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावती । उनका अनुसार यो बिषयमा स्थानीय जनप्रतिनिधिहरुले पनि चासो लिएका छैनन् । 

यस्तै, बेवास्ताका कारण यसअघि समेत कोशी राजमार्गको विभिन्न सडकखण्ड बेला बेला बन्द हुने गरेको स्थानीय दाबी गर्छन । चाडपर्वको मुखमा यति महत्वपूूर्ण सडकखण्ड पहिरोले पुरिएर अवरुद्ध हुँदा समेत समस्या समाधानतर्फ सडक विभागले चासो नदिएकोमा स्थानीय आश्चर्यचकित छन् ।

यो सडक मर्मत नहुँदा धनकुटाको मात्र नभई तेह्रथुम, संखुवासभाका विभिन्न क्षेत्रका कृषिजन्य उत्पादनको तराईतर्फको निकासी समेत ठप्प बनेको छ ।

भेडेटार निवासी गजेन्द्र कुलुङका अनुसार साउन २८ गते भत्किएको सो सडक ट्रयाक खोलेर एकतर्फी सवारी संचालन गर्नेसम्म त बनाइएको छ, तर कतिखेर फेरि पहिरो खस्ने हो भन्ने डर जस्ताको तस्तै छ । 

स्थानीय सर्वसाधारणले यो सडकलाई दीर्घकालीन ढंगले मजबुत बनाउन माग गरेका छन् । उनीहरुले स्थानीय सरकारले यसमा चासो नदिएको भन्दै केन्द्रीय सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।