काठमाण्डौ । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले बिक्री नभएको २६ हजार ५ सय ४९ कित्ता सेयर भोलि(मंसिर ४)देखि लिलामीबाट बिक्री गर्ने भएको छ ।

यो माइक्रोफाइनान्स कम्पनीले ४ हजार ८५ कित्ता साधारण सेयर र २२ हजार ४ सय ७६ कित्ता संस्थापक सेयर लिलामीको प्रक्रियाबाट बिक्री गर्नेछ । 

समीटले गत भदौ २९ गतेदेखि कात्तिक १ गतेसम्म हकप्रद सेयरको बिक्री खुलाएको थियो । सो क्रममा सेयरधनीले खरीद नगरेका सेयर कित्ता बोलकबोलको माध्यमबाट बिक्री गर्न लागिएको हो । 
मंसिर ४ गतेदेखि खुल्ने लिलामीको प्रक्रियामा मंसिर ११ गतेसम्म सहभागी बन्न सकिनेछ । लिलामी प्रक्रियामा सहभागी हुन चाहनेले न्यूनतम १ सय कित्ताका लागि न्यूनतम १ सय रुपैयाँ प्रतिकित्ता मूल्य राखेर आवेदन दिनुपर्नेछ । 

सानिमा क्यापिटल मार्केट लिमीटेडले लिलामीको प्रक्रियामा बिक्री प्रबन्धकको काम गर्नेछ । 

इच्छुकले बोलपत्रको फारम सानिमा क्यापिटलको मुख्य कार्यालय र सानिमा बैंकका देशभरका शाखा कार्यालयहरुबाट पाउन सकिनेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड २५ लाख रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रद निश्कासनपछि यसको चुक्तापूँजी १४ करोड ५० लाख पुुग्नेछ । यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट सेयरधनीलाई ३४.४८ प्रतिशत बोनस सेयर र १०.५२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बोनस सेयरपछि चुक्तापूँजी बढेर १७ करोडको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता १८०० रुपैयाँ रहेको छ ।