काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले माघ १५ गते(आजदेखि) ४० लाख ८१ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गरेको छ ।

यो कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५०१ रुपैयाँको दरले कुल २ अर्ब ४ करोड रुपैयाँ बराबरको एफपीओ निश्कासन  गरेको हो । 

यो कम्पनीको एफपीओमा माघ १९ गतेभित्र आवेदन दिन सकिनेछ । त्यसबेलासम्म माग अनुसारको आवेदन नपरेको खण्डमा ढिलोमा फागुन १५ गतेभित्र आवेदन दिन सकिने छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार ४ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

एनएमबी क्यापिटल लिमीटेडले बुटवल पावर कम्पनीको एफपीओ निश्कासनका लागि बिक्री प्रबन्धकको काम गर्नेछ ।

इच्छुक लगानीकर्ताले आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका  शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।
एफपीओ बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २१ करोड र रिजर्ब बढेर १ अर्ब ५० करोडको उचाईमा पुग्नेछ । 

बुटवल पावर कम्पनी लिमीटेडले एफपीओबाट संकलित रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर प्रोजेक्ट तथा ३० मेगावाटका ङादी  हाइड्रोपावर प्रोजेक्ट निर्माणमा खर्च गर्ने योजना बनाएको छ । बुटवल पावर कम्पनीको काबेलीमा ५४ प्रतिशत र ङादीमा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

बुटवल पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ६२८ रुपैयाँ रहेको छ । 

यो पनि पढ्नुहोस् :

बुटवल पावरको एफपीओमा लगानी कति सुरक्षित ? कति कित्ताका आवेदन दिने ?