काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयरको निश्कासन गरेको छ । 

यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५ हजार ७ सय ७० कित्ता समेत थपेर सर्वसाधारणका लागि १५ लाख ३३ हजार ७ सय ७० कित्ता सेयर निश्कासन गरेको हो । 

यसबाहेक २२ हजार कित्ता आइपीओ कम्पनीका कर्मचारीका लागि र ५५ हजार कित्ता आइपीओ म्युचुअल फण्डका लागि सुरक्षित गरेको छ । 

यो कम्पनीले यसअघि असार २२ देखि साउन २० गतेसम्म आयोजना प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि आइपीओ निश्कासन गरेको थियो । सो क्रममा ९४ हजार २ सय ३० कित्ता सेयरका लाग मात्र आवेदन परेको थियो । 

सर्वसाधारणका लागि खुल्ला हुने आइपीओमा छिटोमा पुस २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । 

कम्पनीले इच्छुक लगानीकर्तालाई न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

सीआस्वा सेवा संचालनको अनुमति पाएका जुनसुकै बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट इच्छुकले आइपीओका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणका लागि आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ५५ करोडको उचाईमा पुग्नेछ।

घलेम्दी हाइड्रो लिमीटेडले म्याग्दीको नरच्याङ गाउँपालिका वडानम्बर ७ मा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको प्रति मेगावाट लागत २३ करोड रहेको छ । 

आवेदन दिने कि नदिने ?
लगानीकर्ताहरुले विगत लामो समयदेखि क्रेडिट रेटिङको क्रममा ग्रेड फाइभ आउने कम्पनीलाई आइपीओ निश्कासनमा रोक लगाउनुपर्ने माग गर्दै आइरहेका छन् । उनीहरुको यो मागलाई सम्बोधन गर्दै अर्थमन्त्रीबाट गठित कार्यदलले समेत ग्रेड फाइभ वा फाइभ प्लस रेटिङ आउने कम्पनीलाई आइपीओ निश्कासनमा बन्देज लगाउनुपर्ने सुझाव प्रतिवेदनमार्फत दिइसकेको छ । सो सुझाव कार्यान्वयनका लागि कमजोर रेटिङ पाएका कम्पनीलाई आइपीओ निश्कासन गर्न बन्देज लगाउने  व्यवस्था कार्यान्वयनमा आउनै लागेको धितोपत्र बोर्डले बुधबार मात्र विज्ञप्तिमार्फत जनाएको छ । 

यी सबै विषयको निश्कर्ष हो: ग्रेड फाइभ रेटिङ पाएका कम्पनीमा लगानी बेकार छ । यस्तो कम्पनीमा गरिएको लगानीको रिटर्न तत्काल पाइन्न भने त्यस्तो लगानी निकै जोखिमपूर्ण समेत हुन्छ । यहीकारण समेत यस्ता कमजोर कम्पनीको आइपीओमा लगानी नगर्न विज्ञहरुले सुझाउँदै आएका छन् । 

तर, नेपालमा आइपीओ भन्नेबित्तिकै मरिहत्ते गर्ने बानीका कारण सम्बन्धित कम्पनीको वित्तीय अवस्थातर्फ ख्यालै नगरी सर्वसाधारण दौडिने गर्छन् । यस्तो अवस्थामा लगानीकर्ता स्वयम् सचेत बन्नुको विकल्प छैन । 

यो कम्पनीको आइपीओले समेत सबैभन्दा खराब रेटिङ पाएकोले लगानी गर्नुअघि लगानीकर्ताले सोच्नै पर्दछ । दोश्रो बजारमै यो स्तरको कम्पनीको सेयर आइपीओ मूल्यभन्दा कममा फालाफाल पाइराखिएको बेला आइपीओकै नाममा यसको सेयर किन्न दौडिने या नदौडिने भन्ने बिषयमा छनौटको अन्तिम अधिकार लगानीकर्तालाई नै छाडौं ।