काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. ५.३० करोड मूल्यको आईपीओ आज(बुधबार)देखि निश्कासन गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि सबैको लघुवित्तले रु. १०० अंकित दरका ५ लाख ३० हजार कित्ता सेयरको आईपीओ निश्कासन गरेको हो ।
कुल निश्कासित आईपीओमध्ये ८ हजार २५० कित्ता सेयर कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले चाँडोमा साउन ५ गते र ढिलामा साउन ३० गतेसम्म आवेदन दिन पाउने छन् ।
लघुवित्त कम्पनीको आइपीओमा अचाक्ली आवेदन पर्ने कारणले यो कम्पनीको आइपीओमा पनि न्यूनतम १० कित्ताका लागि मात्रै आवेदन दिए पुग्नेछ ।
कम्पनीको आईपीओ निस्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
तनहुँको बन्दीपुरस्थित केन्द्रीय कार्यालय रहेको यो कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीमा संस्थापकतर्फको ७० प्रतिशतबराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने आईपीओ बिक्रीपछि चुक्तापुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको पाँच करोड ३० लाख मूल्यबराबरको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको दर्शाउँछ ।
इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ।
13 hours ago
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago