काठमाण्डौ । भोलिदेखि नेपालका सरकारी कार्यालय समेत बन्द गर्ने तयारी थालिएको छ । 

सोमबारसम्म सरकारी तथा सार्वजनिक कार्यालयहरु खुल्लै रहेका छन् । सरकारले सरकारी कर्मचारीलाई अनिवार्य रुपमा हाजिर हुन उर्दी जारी गरेपछि ती कार्यालय खुल्लै रहेका हुन् । 

तर, प्रधानमन्त्रीको सम्बोधनअनुरुप अब अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायत सबै कार्यालय ठप्प हुनेछन् । यसको अर्थ सरकारी कार्यालयका कर्मचारीले पनि घरमै बस्न पाउनेछन् । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले केही बेरपछि यस्तो निर्णय गर्न लागेको समितिका सदस्य तथा एक मन्त्रीले जानकारी दिएका छन् । 

सरकारी कार्यालय खुल्दा सर्वसाधारणको भीडभाड कम नभएपछि र सोमबार नै काठमाण्डौमा एक कोरोना संक्रमित फेला परेपछि अवस्था जुनसुकै बेला भयावह हुने विश्लेषणसहित सरकारी कर्मचारीलाई विदा दिन लागिएको हो । 

संभवत मंगलबारदेखि नै सरकारी कर्मचारीहरुले पनि घरमै बस्न पाउनेछन् । 

यसैबीच, मंगलबारदेखि सरकारले सुरक्षाकर्मी परिचालन गरेरै भए पनि सर्वसाधारणलाई घरबाट निस्किन दिने छैन । यसका लागि काठमाण्डौका विभिन्न क्षेत्रमा प्रहरीले सोमबार बिहानैदेखि माइकिङ समेत गरिरहेको छ । बारम्बार सूचित गर्दा पनि कोही कसैले अटेर गरी घरबाट निस्किए उसलाई गिरफ्तार गरेर कारबाही गर्नेसम्मको नीति सरकारले लिन लागेको छ । 

पोखरेल संयोजक रहेको समितिको बैठक हाल सिंहदरबारमा बसिरहेको छ । आजको बैठकले अन्य केही महत्वपूर्ण निर्णय समेत गर्नसक्ने स्रोतको दाबी छ ।