काठमाण्डौ । सरकारको घोषणाअनुसार मंगलबार बिहानदेखि एकहप्ते ‘पूर्ण लकडाउन’मा बैंकका अधिकांश शाखा बन्द हुने भएका छन् । तर, यो अवधिमा पैसा जम्मा गर्न चाहने र जम्मा गरेको पैसा निकाल्न चाहनेका लागि भने सम्बन्धित बैंकहरुले आवश्यक व्यवस्था मिलाउनुपर्ने भएको छ । 

नेपाल राष्ट्रबैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बिजशालासँग कुरा गर्दै काठमाण्डौको हकमा आज (मंगलबार) विदा नै रहेको र बुधबारदेखि भने सीमित काउण्टर सीमित समयका लागि मात्र खुलाउने व्यवस्था मिलाइने जानकारी दिए । 

‘सर्वसाधारणले डिपोजिट राख्न पाउँछन् र राखेको पैसा निकाल्न पनि पनि पाउँछन् । तर अरु काम हुँदैन ।’ उनले भने–‘यसका लागि सम्बन्धित बैंकहरुले कुनै निश्चित शाखा वा काउण्टर तोकेर आफ्ना ग्राहकहरुलाई बेलैमा सूसुचित गर्नुपर्ने हुन्छ ।’ 

काठमाण्डौ बाहिरको हकमा भने यो व्यवस्था मंगलबारदेखि नै लागू हुनेछ । ‘यदि कुनै बैंकको एउटै शहरमा केही शाखाहरु छन् भने सबै खोल्नु पर्दैन ।’ उनले थपे–‘एउटा निश्चित शाखा खोलेर निश्चित अवधिका लागि पैसा दिने र लिने काम गर्न सक्नेछन् ।’ 

गाउँपालिकामा रहने बैंक शाखाहरुले भने स्थानीय प्रशासनसँग समन्वय गरी उसको इजाजत लिएर मात्र बैंक शाखा निश्चित समय खोल्न सक्नेछ । ‘शाखा नखोलिएको अवस्थामा समेत सर्वसाधारणको सहजताका लागि शाखाको मुल गेटमा शाखा प्रबन्धकको नाम र नम्बर टाँस गर्नुपर्नेछ, ताकि कसैले पैसा राख्ने र निकाल्ने काम गर्न सहजै सकोस् । हरेक शाखामा गार्ड हुन्छ, सर्वसाधारणले गार्डलाई सम्पर्क गरेर पनि शाखा म्यानेजरलाई खबर गरी सेवा लिनसक्ने वातावरण बनाउन भनी हामीले सम्बद्ध सबै बैंकहरुलाई निर्देशन दिइसकेका छौ ।’ शिवाकोटीले थपे–‘ग्राहकले पैसा राख्न वा निकाल्न आवश्यक परेको बेलामा शाखामा गएर प्रबन्धकलाई फोन गर्ने बित्तिकै उसले सेवा पाउने व्यवस्था मिलाउनुपर्नेछ ।’ 

यस्तै, राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ण लकडाउनको बेलामा आवश्यक पर्ने सवारीका साधनको पासका लागि स्थानीय प्रशासन वा प्रमुख जिल्ला अधिकारी तथा उनको कार्यालयसँग समन्वय गर्न समेत आग्रह गरेको छ । पासबिना गाडी नचलाउन राष्ट्रबैंकले बैंकहरुलाई आग्रह गरेको छ । काठमाण्डौको हकमा पनि बैंकहरुले जिल्ला प्रशासन कार्यालयमा गएर पास लिएपछि मात्र गाडी चलाउन पाउनेछन् । त्यसका लागि सुरुमै बैंकले कति गाडी आवश्यक पर्छ भन्ने विवरण गाडी नम्बरसहित प्रशासनलाई दिनुपर्नेछ । 

कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले भोलि बिहान ६ बजेदेखि लकडाउनमा जाने निर्णय गरेपछि राष्ट्रबैंकले मौखिक रुपमा वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीका छाता संगठनका अध्यक्षहरुलाई यो विषयमा जानकारी गराइसकेको पनि शिवाकोटीले जानकारी दिए । ‘हामीले बैंकर्स एशोसिएन, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र फाइनान्स कम्पनी एशोसिएसनका अध्यक्षलाई कसरी सेवा सुचारु राख्ने र के गर्ने नगर्ने भन्ने विषय भनिसकेका छौ ।’ शिवाकोटीले थपे–‘हाम्रा शाखा म्यानेजरहरुलाई पनि भनिसकेका छौ, त्यहीँबाट सर्कुलेट हुन्छ । लिखित निर्देशन आउँदैन ।’ 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमार्फत अत्यावश्यक बाहेकका सेवा प्रवाह हुने क्षेत्र पूर्ण रुपमा बन्द गरिने घोषणा गरेका थिए । बैंक पनि अत्यावश्यक सेवाको क्षेत्र भएकोले सर्वसाधारणले चाहेको अवस्थामा सेवा पाउने व्यवस्था गर्न लागिएको हो ।