काठमाण्डौ । कोभिड १९ का कारण निःशुल्क गरिएका विद्युतीय कारोबारमा अब बैंकहरुले शुल्क लिन सक्नेछन् । 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन, विकास बैंकहरुको संगठन डेभलपमेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनीहरुको संगठन नेपाल वित्तीय संस्था संघले संयुक्त सूचना जारी गर्दै कोभिड-१९ र पूर्ण लकडाउन अवधिभर निःशुल्क गरिएको विद्युतीय कारोबारमा अब शुल्क लिने या नलिने निर्णय सम्बन्धित संस्थाले नै गर्न पाउने निर्णय गरेका हुन् । 

योसँगै ठूलो परिमाणमा विद्युतीय कारोबार भए पनि शुल्क लिन नपाएका कारण आम्दानीमा क्षति व्यहोरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले साउन १ गते(भोलि)देखि भने पूर्ववतः रुपमै शुल्क लिन पाउनेछन् । कुनै संस्थाले शुल्क लिन पाउँदिन भन्न पनि पाउनेछ । 

कोभिड १९ नियन्त्रणका लागि लकडाउन हुने भएपछि चैत पहिलो सातादेखि नै बैंक तथा वित्तीय संस्थाहरुले सबै खालका विद्युतीय कारोबार निःशुल्क गरेका थिए । 

अहिले प्रायःजसो बैंक तथा वितीय संस्थाका शाखाहरु खुला नै रहेको तथा लकडाउन पनि खुकुलो भई आवतजावत समेत खुकुलो भएको उल्लेख गर्दै तीनवटै संस्थाले बिहीबारदेखि भने त्यो बाध्यता हटेको बताएका छन् । 

योसँगै विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्नेछ । कनेक्ट आइपीएस, एनसीएचएल आइपीएस तथा एनसिएचएल इसीसी सम्बन्धी शुल्क निर्धारण पनि नेपाल क्लियरिङ हाउसले नै गर्नेछ ।