काठमाण्डौ । युवाहरुका बीचमा लोकप्रिय र एक मात्र मोटरसाइकल रेसिङ ‘रेसमान्डु’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

मे ६ अर्थात बैशाख २३ गते ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्पाउण्डमा हुने रेसमान्डुमा ९० जनाभन्दा बढी राइडर सहभागी हुने आयोजकले जनाएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा)मा आबद्ध नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) को आयोजनामा हुन लागेको रेसमान्डुमा नोभिस अन्तर्गत २ समूह र नेसनल गरी ३ समूहमा खेल सञ्चालन हुनेछ ।

नोभिस क्याटागोरी ए समूहमा १९८ सिसी सम्मका र नोभिस क्याटागारी बी मा १९९ देखि २५० सिसीका मोटरसाइकल राइडर सहभागी हुनेछन् । नासा अन्तर्गतको एनएमएफसीले वितरण गरेको मोटरसाइकल स्पोर्ट्स लाइसेन्स प्राप्त राइडर मात्र प्रतियोगितामा सहभागी हुनसक्ने बताइएको छ । विजेताहरुलाई शिल्ड, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

रेसमान्डु २०१७ को मूख्य प्रायोजक यामाहा आरथ्री मोटरसाइकल रहेको छ । त्यसैगरी पेट्रोनस स्प्रिन्टा लुब्रिकेन्ट्स, रेडबुल इनर्जी ड्रिंक र पिरेली मेटजेलर टायर इभेन्ट पार्टनर रहेका छन् । इभेन्टलाई हिट्को प्रालि, आयल ल्युब सिस्टम र गणेशमान सिंह हस्पिटलको सहयोग रहेको छ ।

पर्वतीय खेलकुद महासंघको प्रस्ताव एवं समन्वयमा पाँचौ पर्वतीय खेलकुद महोत्सव २०१७ अन्तर्गत यो प्रतियोगिता सञ्चालन हुन लागेको हो । पाँचौ पर्वतीय खेलकुद महोत्सव अन्तर्गत नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र राष्ट्रिय खेलकुद परिषदले समेत यो इभेन्टलाई सहयोग गरेका छन् ।

प्रतियोगिता हेर्नका लागि २ सय रुपैयाँको टिकट लाग्ने छ । नेसनल क्याटागोरीको प्रतियोगितामा राइडरहरुले यामाहा आर १५ मोटरसाइकल कुदाउने छन् ।

नासाले यो भन्दा पहिले पनि चारवटा रेसमान्डु सफलतापूर्वक सम्पन्न गरिसकेको छ । रेसमान्डुको यो पाँचौ संस्करण हो ।

इभेन्ट संयोजक सन्तोष न्यौपानेका अनुसार पहिलेका विजेताहरु विदेशमा भएका विभिन्न रेसिङ इभेन्टमा सहभागी भइसकेका छन् । यस पटकका विजेतालाई पनि विदेशमा हुने विभिन्न इभेन्टमा भाग लिनका लागि मौका प्रदान गरिने छ ।