काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन तयारीको पूर्व सन्ध्यामा बुधबार सरोकारवालाहरुसँग छलफल गर्दैछ ।

होटल र्याडिसनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदनको पूर्व तयारीको रुपमा बैंकर, उद्योगी व्यवसायी तथा अन्य सरोकारवालासँग छलफल हुन लागेको हो ।

सरोकारवालाहरुलाई केन्द्रीय बैंकले दिउँसो २ः३० बजे आमन्त्रण गरेको हो।

सरकारलाई चौतर्फी रुपमा आयातमा कडाईका लागि दवाब परिरहेको र बैंक ब्याजदरविरुद्ध देशव्यापी रुपमा उद्योगी व्यवसायी आन्दोलित भइरहेको बेला यसपटकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई चासोका साथ हेरिएको छ । 

बैंकरहरुले मौद्रिक नीतिबाट सीसीडीको गणनामा केही सहुलियत प्राप्त हुने अपेक्षा गरेका छन् । तर, उनीहरुको अपेक्षा पूरा हुने अवस्था भने नभएको एक बैंकर बताउँछन् । 

मुद्रा र पूँजीबजारको समस्यालाई यसअघि नै अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलको सुझाव अनुसार सम्बोधन भइसकेकोले ती विषयमा अर्धवार्षिक समीक्षामार्फत धेरै विषयमा संसोधन आउने संभावना न्यून देखिन्छ । तर, अर्थतन्त्र जर्जर भएको अवस्थामा महत्वपूर्ण सुझावहरु आउने केन्द्रीय बैंकको अपेक्षा देखिएको छ । 

मौद्रिक नीतिमार्फत सहुलियतपूर्ण कर्जा प्रवाहमा उदासीन देखिएका बैंक तथा बित्तीय संस्थाहरुलाई कस्ने तयारी समेत गरिएको छ, सो विषयमा समेत बैंकरहरुसँग छलफल हुनेछ ।
*(यसअघिको समाचारमा बैंकर्स संघबाट प्राप्त सूचनाका आधारमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको विषयमा गलत समाचार सम्प्रेषण हुन गएकोमा क्षमाप्रार्थी छौ ।)
-सम्पादक