चितवन । धावनमार्ग मर्मतसम्भारका लागि चितवनको भरतपुर विमानस्थल आज आइतबारदेखि १० दिनका लागि बन्द गरिएको छ ।

आजबाट मंसिर २४ गतेसम्म हवाई सेवा रोकेर धावनमार्ग मर्मतसम्भारको काम सुरु गरिएको नागरिक उड्डयन प्राधिकरण भरतपुरले जनाएको छ ।

कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् ।

धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको छ । पार्किङस्थल फराकिलो बनाइने बताइएको छ । ठेकेदार कम्पनीले रातको समयमा काम गर्दै आएको थियो । विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्र गरिने छ ।

गौतमका अनुसार तापक्रम घट्दै गएकाले रातमा कालोपत्र उपयुक्त नभएको र स्थानीयवासीले आफूहरुलाई अप्ठ्यारो भएको गुनासो गरेपछि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरेको छ । गत वर्षकै कार्यक्रमको निरन्तरताअन्तर्गत धावनमार्ग ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो ।

झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको थिएन । धावनमार्गमा विमानलाई समस्या हुन थालेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताउनुभयो ।

भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच/पाँच जहाज काठमाडौँ र एक÷एक जहाजले पोखरा उडान भर्दै आएका छन् । गौतमले भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन चाहेमा चलाउन सक्नेगरी व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो ।

करीब ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको छ ।