काठमाण्डौ ।न्यायको हात लामो हुन्छ, लुकाएर लुक्दैन एक न एक दिन सजाय भोग्नैपर्छ भन्ने नेपाली उखान आन्तरिक राजस्व कार्यालयका नायब सुब्बा उमेशकुमार रेग्मीको जीवनमा लागु भएको छ। राजस्व कार्यालयका कर्मचारी हुँदा उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति आफन्तका नाममा लुकाएर राखे पनि अन्ततः अदालतले गैरकानुनी भन्दै जफतको फैसला सुनाएको छ।

लामो समयसम्म राजस्वका नायव सुब्बा रहेका रेग्मीले सासू उषा काफ्ले, साली उषादेवी काफ्ले र साला सुधीरकुमार काफ्लेको नाममा कृषि विकास बैंकका विभिन्न शाखामा लाखौं रकम राखेका थिए । राजस्वमा रहँदा पदको दुरुपयोग गरी रेग्मीले आर्जन गरेको सम्पत्ति लुकाउने उद्देश्यले उनीहरुका नाममा राखे पनि सर्वोच्चले त्यसलाई गैरकानुनी ठहर गरी जफत गर्न फैसलामा भनेको हो ।

प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदिश शर्मा पौडेलको इजलाशले स्रोत पुष्टि गर्न नसक्ने भएपछि आफन्तका नाममा रकम लुकाए पनि कानुनको नजरमा नछिप्ने फैसलामा भनिएको छ । सर्वोच्चले रेग्मीले गैरकानुनी रुपमा आर्जन गरेको १ करोड ८ लाख रुपैयाँ कमाएको ठहर गरी सो रकम जफत गरी त्यति नै बराबर जरिवाना गर्ने फैसला सुनाएको हो ।

सर्वोच्चले गत महिना फैसला गरेको भए पनि हालै मात्र पूर्णपाठ सार्वजनिक गरेको हो । सर्वोच्चको फैसलाअनुसार काफ्लेको दुई करोड बराबरको सम्पत्ति जफत र एक वर्ष कैद हुनेछ । स्रोत पुष्टि गनुपर्ने जाँच अवधिको कुल सम्पत्ति १ करोड २७ लाख ६५ हजार ३ सय ६२ देखिएकोमा रेग्मीको कानुनबमोजिमको आयस्रोत १० लाख ८८ हजार ७ सय सम्पत्ति मात्र पुष्टि भएको फैसलामा उल्लेख छ । सम्पत्ति मूल्यांकन हालको आधारमा नभई आर्जन गर्दाको समयको मूल्यमा आधारित हुने सर्वोच्चको फैसलामा उल्लेख छ ।

रेग्मीले ससुरालीतर्फको सम्पत्ति आफूलाई थाहा नभएको भनी जिकीर गरेको भए पनि उक्त दाबी कुन सम्पत्तिको स्रोत हो भनी पुष्टि गर्ने अन्य आधार भएको नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

सर्वोच्चले सासू सुशीलाकुमारी काफ्ले अर्यालका नाममा कृषि विकास बैंकको रत्नपार्क शाखामा रहेको १९ लाख ९३ हजार ५४ रुपैयाँ, साली उषादेवी काफ्लेको नाममा रहेको गौशाला शाखामा रहेको ३४ लाख २७ हजार १ सय २९, सुधीरकुमार काफ्लेको नाममा रत्नपार्क शाखामा रहेको २० लाख ३५ हजार ४ सय ३७ रुपैयाँ जफत हुने फैसलामा उल्लेख छ ।

उमेशकुमार रेग्मीका नाममा रहेको काजिमनपा वडा नम्बर ९ को ६ आना २ पैसाको करिब ३५ लाख बराबर मूल्यको घरसमेत जफत हुने फैसलामा उल्लेख छ । अख्तियारले छापा मार्दा घरमै फेला पारेको ४ लाख ६९ हजार ५ सय ७० चल अचल सम्पत्ति जफत हुने सर्वोच्चको फैसलामा उल्लेख छ । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले रेग्मीले १ करोड ११ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

विशेष अदालतले गरेको फैसलाविरुद्ध रेग्मीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमा फैसला गर्दै सर्वोच्चले विशेष अदालतले गरेको फैसलामा ३ लाख रुपैयाँ घटाइदिएको छ । विशेष अदालतले गरेको फैसलामा घरको मूल्यांकन गरेको अलिकति नमिलेको देखिएकाले सर्वोच्च अदालतले त्यसमा सच्याएर फैसला गरेको हो । नासु रेग्मीले सासूका नाममा बैंकमा राखेको रकममा इच्छाएको व्यक्ति रेग्मीकी श्रीमती सञ्जनाको नाम राखिएको पाइएको छ ।

यसैगरी, साला काफ्लेको नाममा राखिएको रकममा इच्छाएको व्यक्तिको नाम रेग्मीको छोराको नाम राखिएको अनुसन्धानमा पाइएको थियो । आफ्नो घरपरिवारको भन्दा अन्यको नाममा राखिएको सम्पत्ति भ्रष्टाचारको रकम भएको पुष्टि गर्न गाह्रो हुने भनिइरहेका बेला सर्वोच्चले त्यसको पुष्टि गरेको छ ।

अख्तियारले राजस्व कार्यालयका २२ कर्मचारीलाई एकै दिन छापा मार्दा रेग्मी पनि परेका थिए । अख्तियारले राजस्वमा कार्यरत खरिदार, नासु लगायत अन्य उच्च अधिकारीका घरमा तत्कालीन समयमा छापा मारेको थियो । उक्त प्रकरणमा परेका अधिकांश सर्वोच्च अदालतबाट दोषी ठहर भएका नागरिक दैनिकले लेखेको छ ।