रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अन्तरर्गतका जिल्लाहरुमा उजुरी परेको तुलनामा निकै कम मुद्दाहरु मात्र फछ्र्यौट हुने गरेको देखिएको छ ।

अख्तियारको बुटवल कार्यालयमा १ हजार भन्दा बढी उजुरी परेकोमा ४ सय ९२ उजुरीको मात्र फछ्र्यौट भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बुटवलमा गरेको अन्तरक्रियामा कार्यालयले प्रस्तुत गरेको प्रतिबेदनमा यस्तो तथ्यांक देखिएको छ ।

आयोगको तथ्यांक अनुसार बुटवल कार्यालय अन्तर्गत १० जिल्लाहरुमा सबैभन्दा बढी रुपन्देहीमा उजुरी परेको र सबैभन्दा कम रुकुमपूर्व मा उजुरी परेका छन् । रुपन्देहीमा ३ सय ३८ उजुरी परेकोमा आयोगले ७७ उजुरीको मात्र फछ्र्यौट गरेको छ भने रुकुमपूर्वमा ७ वटा उजुरी परेकोमा १ वटा मात्र फछ्र्यौट गरेको छ ।

आयोगका अनुसार कपिलवस्तुमा १ सय ९७, नवलपरासी पश्चिममा १ सय ७९, अर्घाखाँचीमा ७२, पाल्पा ५३, गुल्मी ४८, रोल्पा ३१ र प्युठान १२ वटा उजुरी परेको थियो । आयोगले प्रमुख रुपमा ८ जनाबिरुद्ध ६ वटा मुद्दाको ३ करोड २६ लाख , ६८ हजार ३ सय ५को बिगो सहित मुद्दा चलाएकोमा ९६ लाख २ हजार ३ सय १४ बिगो असुल गर्न सफल भएको छ ।

अन्तरक्रियामा बोल्दै आयोगका सहसचिव तथा बुटवल कार्यालयका प्रमुख तारानाथ अधिकारीले जनचेतना बढेका कारण उजुरी बढेको बताए ।

अख्तियारको बुटवल कार्यालयले प्रदेश नम्बर ५ को नेपालगञ्जमा सम्पर्क कार्यालयको ३ जिल्ला र गण्डकी प्रदेशको नवलपुर जिल्ला सहित १३ जिल्लामा काम गर्दै आएको छ ।