काठमाण्डौ । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेक्स एक्सका मंगल ग्रहमा १० लाख मानिस पठाउने लक्ष्य लिएको छ ।

स्पेक्स एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ट्विट गर्दै कम्पनीको योजना सार्वजनिक गरेका हुन् । मस्कको ट्विटमा सन् २०५० सम्ममा कम्पनीले १० लाख मानिस मंगल ग्रहमा पठाएर मानव बस्ती विकास गर्ने लक्ष्य लिएको स्पष्ट पारेका छन् ।

मस्कका अनुसार शताब्दीको मध्यसम्ममा मंगल ग्रहमा मानव बस्ती बसाल्न रकेटबाट करोडौँ टन अत्यावश्यक सामान पठाउनुपर्नेछ । ‘हरेक वर्ष १०० थान स्टारसिप बनाउँदा १० वर्षसम्म १ हजार थान स्टारसिप बन्नेछ’, मस्कको ट्विटमा उल्लेख छ ।

पृथ्वी र मंगल ग्रह आपसमा सबैभन्दा नजिक आएको मौका छोपेर हरेक वर्ष सय मेगाटन सामान र एक लाख मानिसलाई मंगल ग्रह पठाउने कम्पनीको लक्ष्य छ । यसरी सन् २०५० सम्ममा १० लाख मानिस मंगल ग्रहमा पुर्याउने लक्ष्य सजिलै हासिल गर्न सकिने कम्पनीको दाबी छ ।

मंगल ग्रहमा मानव बस्ती बसाल्न करिब १ खर्ब डलरदेखि १०० खर्ब डलरसम्म खर्च लाग्ने अनुमान कम्पनीको छ ।

त्यसो त सन् २०१९ सेप्टेम्बरमा स्पेस एक्सले मंगल ग्रहमा मानिस राख्न उपयुक्त सम्भावित साइट उपलब्ध गराउन अमेरिकी अन्तरिक्ष निकाय नासालाई आग्रह गरिसकेको छ । कम्पनीले अहिले मंगल ग्रहमा स्टारसिप बनाउँदैछ । यो एउटा वाहन हो, जसको माध्यमबाट मानिससँगै अत्यावश्यक वस्तुलाई मंगल ग्रह लैजान सकिन्छ ।

कम्पनीले मंगल ग्रहलाई मानव बस्ती बसाल्न योग्य पार्न न्यानो बनाउनुपर्ने भएकोले त्यहाँ ससाना कृत्रिम सूर्य सिर्जना गर्न थर्मोन्यूक्लियर अस्त्र लन्च गर्नुपर्ने जनाएको छ । – एजेन्सी