काठमाण्डौ । लगातार पाँच दिनसम्म घटेको सेयर बजारमा मंगलबार ३.०८ अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक बढेर १४७२.२४ अंकको उचाईमा फर्किए पनि कारोबार रकम भने सोमबारको तुलनामा करिब ५ करोडले घटेको छ । कारोबार रकम घट्नुु र यही बेलामा नेप्से परिसूचक बढ्नुले बजारमा बिक्री गर्नेहरु घटेका र बिस्तारै खरीदकर्ताहरुको चाप पर्न थालेको देखिएको छ । तर, नेप्से परिसूचकसँगै बजारलाई कारोबारको साथ नभएसम्म यसै भन्न सकिने अवस्था हुन्न् । 

मंगलबार ४ समूहको सूचक घटेको छ भने अन्य समूहको सूचक बढेको छ । ट्रेडिङ समूहको कारोबारमा उछाल आएपछि सर्किट ब्रेक नै लगाउनुपरेको थियो । यो समूहको सूचकमा एकैदिन ७.६८ प्रतिशतको उछाल आएको हो । 

यो दिन वाणिज्य बैंक समूह ५.४९ अंकले बढेको छ भने बिमा, माइक्रोफाइनान्स, जलविद्युत र होटल समूहमा क्रमशः १४.९५ अंक, ३.२९, ६.६५ र ९.०५ अंकको बढोत्तरी भएको छ । 

विकास बैंक समूह ३.२३ अंकले घटेको छ भने बित्त समूह २.२९, उत्पादनमूलक १४.९४ अंक र अन्य समूह ५.५ अंकले घटेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा केही सुधार आउँदा सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ०.३७ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका ८ लाख ४२ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भयो । यो दिन सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको ४ करोड २६ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, एभरेष्ट बैंकले २ करोड ५८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३२ लाख, प्राइम लाइफले १ करोड १७ लाख, चिलिमे हाइड्रोपावर कम्पनीले ९३ लाख बढीको कारोबार गरे । यस्तै, जनता बैंकले ८९ लाख बढी, स्ट्याण्डर्ड चार्टर्डले ८९ लाख, बैंक अफ काठमाण्डूले ६५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ६० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्रीन डेभलपमेन्ट बैंक र बिशाल बजार कम्पनीका लगानीकर्ता मालामाल भए । यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढ्यो । 

प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घट्यो । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि ५ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाए ।