काठमाण्डौ । सेयर लगानीकर्ताहरुले निश्चित समूहको स्वार्थ सिद्ध हुने गरी लकडाउनकै बीच मंगलबार र बुधबार भएको सेयर कारोबार रद्ध गर्न माग गरेका छन् । 

लगानीकर्ताका चारवटा संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् । 

‘विगत २ दिनमा लगानिकर्ताहरूको न्यून सहभागिता र न्यूून संख्यामा भएका शेयर कारोबारलाई रद्द गरी बहुसंख्यक लगानीकर्ताहरूको व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहयोग गरी अभिभावकीय भुमिका निभाइदिनु हुन नेपाल धितोपत्र बोर्डलाई हार्दिक अनुरोध गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ–‘आगामी दिनका कारोवार संचालन गर्दा कोरोना भाईरसको प्रभाव अन्त्य नभएसम्मका लागि उपयुक्त विकल्पको खोजी गरी र पूर्ण स्वचालित प्रविधिलाई प्राथमिकतामा राखी कारोवार गराउनु हुन समेत अनुरोध गर्दछौं।’

आफूहरुले सचेत गराउँदा गराउँदै बैशाख ३० र ३१ गते बजार खोलिएको र यसबाट कसैलाई पनि फाइदा नपुगेको लगानीकर्ताको दाबी छ । 

‘हामीहरूले उठाएका समय सापेक्षित मागहरू राज्यद्वारा अवलम्बन गरिएको सिद्धान्तलाई हृदयंगम गर्दै लकडाउनमा सर्वसाधारण लगानीकर्ताहरू कारोवारमा सहभागी हुनसक्ने अवस्था थिएन र शेयरको संख्यात्मक कारोवार पनि हुन सक्ने अवस्था पनि थिएन र भइहाल्यो भने पनि सीमित व्सक्तिहरूको मात्रै पहुँच हुन सक्छ र कारोबारबाट शेयरको मूल्यमा चलखेल हुन सक्छ र राज्यलाई प्राप्त हुने राजश्व नगण्य मात्रामा मात्रै संकलन हुन सक्छ, तर शेयर बजारको पुँजिकरणमा उक्त कारोवारले व्यापक ह्रास ल्याउन सक्छ भन्ने अनुमान गरेका थियौं।’ लगानीकर्ताका संगठनले भनेका छन्–‘विगत २ दिनको कारोवारले हाम्रा माथिका आशंकाहरूलाई व्यवहारिक रूपमै पुष्टि गरेको छ। बजारमा अत्यन्तै न्युन सहभागिता भएको पुष्टि हुन्छ र बहुसंख्यक लगानीकर्ताको प्रतिनिधित्व भएको देखिंदैन ।’

हाल संचालनमा रहेको अनलाईन प्रणालीमा व्यापक सुधार गरी सबै लगानीकर्ताहरूले उक्त प्रणालीमा सहभागी हुन सक्ने लगानीमैत्री वातावरण सिर्जना नगरी बजार संचालन गर्दा राज्यले चाहे अनुरूप राजश्व संकलन नहुने, बहुसंख्यक सरोकारवालाहरूको सहभागिता नहुने र लक्षित वर्गले यसबाट प्रतिफल पनि लिन नसक्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा दाबी गरिएको छ । ‘शेयर बजारमा अन्यौल र अस्थिरता श्रृजना हुने र नियामक निकायको बजार संचालन सम्बन्धी निर्देशिकाका बुँदाहरूलाई पालना नगरी गरिएका कारोवारबाट कुनै उपलब्धि हासिल नभएको हुनाले आजैबाट शेयर बजार लकडाउन अवधिभर संचालन नहुने निर्णय भएकोमा सेवोन, नेप्से लगायत सरोकारवाला निकाय र यसमा सहयोग गर्नु हुने व्रोकर, आम लगानिकर्ता साथीहरुमा सबै संघ संगठनको तर्फ बाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं।’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, सेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजीबजार संघका अध्यक्ष संरक्षणा चौधरीले हस्ताक्षर गरेका छन् ।