काठमाण्डौ । कोरोना भाइरसको संक्रमणको विस्तार तीव्र गतिमा भइरहेको छ । यो क्रममा देशका धेरै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत कोरोना भाइरसको संक्रमण भइसकेको छ । यस्तै अवस्था नआओस् भन्ने हेतूले धेरै बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय क्षेत्रलाई डिसइन्फेक्सन गर्ने काम समेत गरिरहेका छन् । 

नेपाल राष्ट्रबैंकले बैंकहरुले प्रयोग गर्ने नोटहरुलाई समेत डिसइन्फेक्सन गरेर मात्र प्रयोगमा ल्याउन भनेको छ । राष्ट्रबैंकले नभने पनि धेरै बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय परिसर तथा कार्यस्थललाई समेत समय समयमा डिसइन्फेक्सन गर्ने गरेका छन् । यही कामका लागि भनेर प्रभू बैंकको बबरमहलस्थित मुख्य कार्यालय आज बन्द गरिएको छ । 

प्रभू बैंकको मुख्य कार्यालय रहेको भवनमा संचालित मुख्य शाखाबाट उपलब्ध हुने सबै सेवा मंगलबार भने बन्द गरिएको बैंकले सूचना नै टाँस गरेको थियो । 

सर्वसाधारणहरु बैंकमा गएका भए पनि सुरक्षागार्डले सूचना देखाउँदै फर्काइरहेका थिए । 

राष्ट्रबैंकले अनुकुलता हेरेर सीमित शाखा तथा जनशक्तिबाट बैंकिङ सेवा दिन सकिने भनिसकेको छ । यही निर्देशनभित्र रही डिसइन्फेक्सन गर्नका लागि मुख्य शाखा मंगलबार एक दिन बन्द गरिएको बैंकका एक उच्च अधिकारीले जानकारी दिए । 

उपत्यकाभित्र र बाहिरका शाखाहरुमा समेत समयतालिका मिलाएर डिसइन्फेक्सन गरिने ती अधिकारीले बताए ।