काठमाण्डौ । सानिमा बैंकले प्रवद्र्धन र सानिमा क्यापिटलले व्यवस्थापन गरेको पहिलो म्युचुुअल फण्ड सानिमा इक्वीटी फण्डले आगामी मंसिर १२ गतेदेखि सार्वजनिक निश्कासन गर्ने भएको छ । 

फण्डले प्रति इकाई १० रुपैयाँ दरका १२ करोड इकाईहरुको सार्वजनिक निश्कासन गर्ने भएको हो। 

कुल १२ करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख कोष प्रवद्र्धक सानिमा बैंकलाई छुट्याई बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि जारी हुने सोमबार आह्वानपत्र प्रकाशित गर्दैै सानिमा क्यापिटलले जनाएको छ । 

मंसिर १२ गतेदेखि खुल्ने आइपीओमा इच्छुक लगानीकर्ताले मंसिर १५ गतेभित्र आवेदन दिनसक्नेछन् । सो मितिसम्म पनि सबै आइपीओ बिक्री भएन भने आवेदन दिन अधिकमत मिति मंसिर २६ गतेसम्मलाई तोकिएको छ । 

धितोपत्र बोर्डले १ अर्ब २० करोड मूल्यको सानिमा इक्वीटी फण्डलाई इकाई निश्कासनको अनुमति कात्तिक २७ गते दिएको थियो । इकाईमा माग भन्दा धेरै आवेदन परे २५ प्रतिशतसम्म आकार बढ्न सक्नेछ ।

सात वर्षे बन्दमुखी यो फण्डमा न्यूनतम १०० र अधिकतम २४ लाख इकाईसम्मका लागि खरीदको आवेदन दिन सकिनेछ । यसको अर्थ खल्तीमा १ हजार रुपैयाँ हुनेले समेत यो फण्डको इकाई खरीदका लागि आवेदन दिनसक्ने छन् । 

इच्छुक लगानीकर्ताले आस्वा सदस्य बैंक तथा बित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिनसक्नेछन् ।

हाल देशमा १२ म्युचुुअल फण्डहरु संचालनमा छन् । जसमध्ये सिद्धार्थ इक्वीटी फण्डले केही साताअघि मात्र सार्वजनिक निश्कासन गरेको थियो ।