काठमाण्डौ । रिलायन्स फाइनान्स लिमीटेडले आगामी मंसिर २२ गतेदेखि १० बराबर ४.५ को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाउने भएको छ । 

यो कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै मंसिर २२ गतेदेखि खुल्ने हकप्रदका लागि सेयरधनीले पुस २७ गतेभित्रमा आवेदन दिनुपर्ने जनाएको हो । 

यो कम्पनीले १०० रुपैयाँ दरका कुल २३ लाख ६ हजार ५ सय ७१ दशमलव ६० कित्ता हकप्रद बिक्री गर्नेछ । 

हाल यो कम्पनीको चुक्तापुँजी ५१ करोड २५ लाख ७१ ह्जार रहेको छ । हकप्रद सेयरको बिक्रीपछि चुक्तापूँजी बढेर ७४ करोड ३२ लाख २८ हजार माथि पुुग्नेछ । 

यो कम्पनीले धितोपत्र बोर्डले असोज २५ गते हकप्रद निश्कासनको अनुमति दिएको थियो । मंसिर ७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

यो फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १० करोड ९८ लाख खूद नाफा आर्जन गरेको थियो । सो अवधिमा यो कम्प्नीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा कायम भएको थियो । यो कम्पनीले चालुु आर्थिक वर्षको अन्तसम्म १५ करोडको हाराहारीमा नाफा कमाई प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३० पैसा हुने प्रक्षेपण गरेको छ । 

नेपाल राष्ट्रबैंकले ‘ग’ वर्गका बित्तीय संस्थाहरुको चुक्तापूँजी ८० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यही मापदण्डलाई पूरा गर्ने उद्देश्यले रिलायन्स फाइनान्सले ४५ प्रतिशतको दरले हकप्रद निश्कासन गर्न लागेको प्रष्टाएको छ । 

हकप्रद सेयरबाट प्राप्त हुने २३ करोड बढी रकमध्ये ११ करोड ५३ लाख तरलता कायम गर्न नेपाल राष्टबैंकमा मौज्दात कायम गरिने र बाँकी ११ करोड ५३ लाख ऋण लगानी प्रयोजनका लागि राखिने बताइएको छ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गर्नेछ । रिलायन्स फाइनान्सका इच्छुक सेयरधनीले उपत्यकाभित्र सनराइज क्यापिटलको कमलपोखरीस्थित मुख्य कार्यालय, रिलायन्स फाइनान्सको प्रदर्शनीमार्ग र न्यूरोड काठमाण्डौस्थित कार्यालयहरु त्था उपत्यका बाहिर रिलायन्स फाइनान्सका सबै शाखा कार्यालय तथा सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, धरान, नेपालगञ्ज, लहान, दमक र राजविराजस्थित शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् ।