-भक्तराज रसाइली
काठमाण्डौं । असोज  २ गतेदेखि सञ्चालन आएको मक ट्रेडिङमा नेप्सेको सक्रियता रहँदा रहँदै पनि लगानीकर्ताहरु भने अलमलमा परेका देखिएको छ । 

नेप्सेले बेला–बेलामा विज्ञप्ति, म्यानुअल र भिडियो ट्युटोरियल राखेर लगानीकर्ताहरुलाई मक ट्रेडिङ्गका बारेमा जानकारी गराएको र सेयर लगानीकर्ता संघका नेताहरुलाई बोलाएर  तालिम समेत दिइसकेको छ । लगानीकर्ताका नेतालाई तालिम दिएर उनीहरुमार्फत अन्यले पनि सिकून् भन्ने नेप्सेको उद्देश्य रहेको देखिन्छ । तर, कतिपय लगानीकर्ताका नेताले आफूले मात्र तालिम लिएर सो बिषयमा अन्यलाई नसिकाउँदा समस्या भइरहेको नेप्सेका एक अधिकारी दाबी गर्छन् । 

नेप्सेबाट मकको बिषयमा प्रशिक्षित हुने एक पात्र नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले आफूले सिकेको कुरा लगानीकर्तालाई सिकाइरहेको दाबी गरिन् । ‘लगानीकर्ताले सोध्दा मेसेञ्जर र फोनबाट भनिदिने गरेकी छु ।’–उनले बिजशालासँग भनिन् । 

विभिन्न कार्यक्रम गरेर ठूला व्यक्तिहरुलाई मञ्चमा भाषणका लागि बोलाउने, लगानीकर्ताहरुको हितका लागि खोलिएको दाबी गर्ने, तर नेप्सेले दिएको तालिम र जानकारीहरु संघका पदाधिकारीमै सीमित राख्ने प्रवृतिले समेत समस्या निम्त्याइरहेको स्रोतहरु दाबी गर्छन् ।

नेपाल पूँजीबजार संघका अध्यक्ष नवराज सुवेदीले नेप्सेले आफूलाई तालिम दिएको स्वीकार गर्दै मक ट्रेडिङ्गका बारेमा काठमाण्डौं लगायत देशभरि सचेतना फैलाउन लागि पर्नुपर्ने र नेप्सेको होमवर्कको अभाव तथा अपरिपक्वताका कारण प्रत्येक पटक लगइन पासवर्डका लागि अपडेटमा झञ्झट भएको लगानीकर्ताका गुनासा बग्रेल्ती आइरहेका र हचुवाका भरमा यही क्रमलाई निरन्तरता दिइए नेप्से अनलाइनमा पनि दाबी गरे ।

उनले मिडियाकर्मीहरुलाई तालिम र सेयर कारोबार बारे अनलाइन प्रणालीको विषयमा नेप्सेले देशका मुख्य सहरहरुमा तालिम र सचेतना आजबाट गर्न सुझाव दिए ।

यसैबीच, सेयर ब्रोकरकोमा जडित ट्रेडिङ्ग मेनेजमेन्ट सिस्टम(टिएमएस)मा हरेक बिहान १० बजेभित्र सेयर लगानीकर्ताको डीएनए अपडेट नगरी बेवास्ता गरिदिएका कारण कतिपय लगानीकर्ताहरुले फोन गरेर गुनासो गर्ने गरेका नेप्सेका कर्मचारी बताउँछन् । यसबाट ब्रोकरहरुबाट समेत केही लापरबाही भइरहेको पुष्टि हुन्छ । 

यसरी हेर्दा नेप्सेको मकको दौडमा सम्बद्ध पक्षबाट पर्याप्त सहयोग नभएको देखिन्छ । स्वयम् लगानीकर्ताका बेवास्ता र कमजोरी पनि निकै देखिएको स्रोत बताउँछ । 

इन्टरनेटको माध्यमबाट लगानीकर्ताहरुको टिएमएस सिस्टममार्फत ब्रोकरहरुले लगानीकर्ताहरुको डिएनए लगईन अपडेट गरिदिएको खण्डमा मात्र लगानीकर्ताहरु मक ट्रेडिङ्गमा उत्साहित बन्ने र पूर्ण अनलाइन सफल हुन मद्धत पुग्ने बताइन्छ । 

लगानीकर्ता स्वयम्ले पनि भ्यालिड मेल पुरानो सीटीएसमा अपडेट नगरिदिंदा मक ट्रेडिङ्गमा अपेक्षित उत्साह नदेखिएका नेप्सेका अधिकारीहरु बताउँछन् ।

सेयर कारोबारमा पूर्ण अनलाइन प्रणालीको पूर्व अभ्यासका रुपमा लिइएको मक ट्रेडिङ्गमा सम्बद्ध पक्षको चासो नहुनुलाई कतिपयले भने अनौठो रुपमा लिएका छन् । 

नेप्सेका अधिकारीले दाबी गरेजस्तो मकमा आफूहरुबाट असहयोग नभएको ब्रोकरहरु बताउँछन् । एक ब्रोकरका अनुसार केही नयाँ लगानीकर्ता जो आइपीओ भर्ने गर्छन्, तर दोस्रो बजारमा सक्रिय छैनन्, उनीहरुले मोक ट्रेडिङ्गमा सक्रियता देखाएका छन् । तर, नियमित लगानीकर्ताहरुले हालसम्म फोन सम्पर्कमै बढी जोड दिइरहेका र मकमा उनीहरुको चासो नै नरहेको दाबी ती ब्रोकरले गरे । ‘मक ट्रेडिङ्गमा धेरै झञ्झट व्यहोर्नुपर्ने र कतिपय लगानीकर्ता प्रविधिमा निपुण नभएका कारण समेत मकमा अपेक्षित उत्साह नदेखिएको हुनसक्छ ।’ उनले भने ।