काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको मक ट्रेडिङ सकिएको छ । योसँगै नेप्सेले अनलाइन कारोबार प्रणाली तिहारअघि नै कार्यान्वयनमा ल्याउने तयारी थालेको छ । 

नेप्सले एक सूचना प्रकाशित गर्दै असोज २ गतेदेखि सुरु भएको मक ट्रेडिङ सकिएको प्रष्ट पारेको हो । योसँगै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको तयारी थालिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार तिहारअघिदेखि नै अनलाइन कारोबार प्रणाली कार्यान्वयनको तयारी थालिएको छ । 

मक ट्रेडिङमा रहेको अनलाइन कारोबार प्रणालीको यूजर एसेप्टेन्स टेस्टको फाइनल रिपोर्ट सकारात्मक आएसँगै नेप्सेले अनलाइन प्रणाली कार्यान्वयनको पूर्व तयारीको रुपमा कम ट्रेडिङलाई अन्त गरेको औपचारिक जानकारी दिएको बताइएको छ ।  

नेप्सेप्रमुख चन्द्रसिंह साउदले यूएटीको फाइनल रिपोर्ट शुक्रबार नै आइसकेको र आफूहरु अनलाइन कारोबार प्रणालीको भव्य सुरुवातको तयारीमा जुटेको बताएका छन् । 

उनका अनुसार यूएटी रिपोर्ट राम्रो आएकोले अब अनलाइन कारोबार प्रणालीको कार्यान्वयनतर्फ सम्बद्ध सबै पक्षको ध्यान जान जरुरी छ । नेप्सेले यसैको पूर्व तयारीको रुपमा ब्रोकर तथा ब्रोकर कार्यालयका कर्मचारीलाई तालिम समेत दिएको छ । तालिम लिएपछि ब्रोकर र तिनका कर्मचारी अनलाइन कारोबार प्रणालीका लागि तयार रहेका छन् । 

नेपाली सेयर बजारको आधुनिकीकरण, विकास र बिस्तारमा कोशेढुंगा बन्ने अपेक्षा गरिएको अनलाइन कारोबार प्रणाली सुरुवात एक विशेष समारोहका बीच हुने बताइएको छ । 

यूएटी रिपोर्ट आएसँगै नियामक धितोपत्र बोर्डलाई यो सम्बन्धी जानकारी दिइसकिएको र अब अनलाइन कारोबार प्रणाली लञ्चिङ गरिने नेप्से प्रमुख साउदले जानकारी दिए । ‘हामीलाई बोर्डले अनलाइन प्रणाली कार्यान्वयनको यसअघि नै अनुमति दिइसकेको छ ।’ उनले भने–‘अब जानकारी मात्र गराएर सो प्रणालीको कार्यान्वयनका लागि चाहि जुट्न थालिएको हो ।’ 

उनका अनुसार हालसम्म कुन दिनदेखि अनलाइन कारोबार प्रणालीको औपचारिक सुरुवात हुन्छ निश्चित भइसकेको छैन । ‘तर तिहारअघिबाट सुरु हुन्छ।’–उनले थपे ।