काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सल लिमीटेडलाई १ बराबर १.७५ अर्थात १७५ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति प्रदान गरेको छ । 

मञ्जुश्री फाइनान्सको २०७२ जेठ २६ गते सम्पन्न वार्षिक साधारणसभाले १७५ प्रतिशत अर्थात कुल ४३ लाख  ८६ हजार ३ सय ७५ कित्ता हकप्रद निश्कासनको प्रस्तावलाई पारित गरेको थियो । 

एस क्यापिटल लिमीटेड मञ्जुश्रीको हकप्रद निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको रुपमा रहनेछ । 

मञ्जु श्री फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९० लाख ८४ हजार खूद नाफा आर्जन गरेको छ । यो फाइनान्सको चुक्तापूँजी २५ करोड ६ लाख रुपैयाँ रहेको छ । १७५ प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ६८ करोड ९१ लाख रुपैयाँ पुग्नेछ । 

यो कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य नोभेम्बर १० मा प्रति कित्ता ४२६ रुपैयाँ थियो । 

यसैगरी, धितोपत्र बोर्डले नमस्ते बित्तीय संस्था लिमीटेडलाई समेत १ सय प्रतिशत(१ बराबर १) हकप्रद निश्कासनको अनुमति दिएको छ । 

२०७२ जेठ २९ गते सम्पन्न नमस्ते बित्तीय संस्थाको वार्षिक साधारणसभाले १ सय प्रतिशत अर्थात ३ लाख ७५ हजार कित्ता हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । एनएमबी क्यापिटल लिमीटेड यो संस्थाको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नमस्ते बित्तीय संस्थाले २७ लाख २८ हजार खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी ४ करोड ६५ लाख रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रद वितरणपछि चुक्तापूँजी ९ करोड ३ लाख रुपैयाँ पुग्नेछ । 

नमस्ते बित्तीय संस्थाको प्रति कित्ता अन्तिम सेयर कारोबार मूल्य ७२० रुपैयाँ रहेको छ । यो नोभेम्बर ९ को मूल्य हो ।