काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म अधिकांश बित्तीय सूचकलाई मजबुत बनाएको छ ।

चुक्तापूँजीमा भएको भारी वृद्धि अनुसार नाफा कमाउन नसक्दा इपीएसमा गिरावट आएको देखिए पनि बाँकी सूचकमा पनि यो कम्पनीको प्रगति उत्साहप्रद देखिएको छ । 

मञ्जुश्रीले समीक्षा अवधिमा ५ करोड ११ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड २९ लाख मात्र खूद नाफा आर्जन गरेको थियो । यो हिसाबले नाफातर्फ ५५.४४ प्रतिशतको प्रगति भएको देखिएको छ । 

यो फाइनान्स कम्पनीले व्यवसाय बिस्तारमा समेत विशेष ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको देखिएको छ । अघिल्लो वर्ष १० करोड ८६ लाख रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर १५ करोड ५७ लाखको उचाईमा पुगेको हो । 

यस्तै, ५ करोड १३ लाखमा सीमित संचालन मुनाफामा ५३.२७ प्रतिशतको प्रगति भई ७ करोड ८६ लाख पुगेको छ । 

कम्पनीले समीक्षा अवधिमा ३ अर्ब ५२ करोड निक्षेप संकलन गरी ३ अर्ब ५७ करोड कर्जा परिचालन गरेको छ । यो अवधिमा २७ करोड ५८ लाख सापटी लिएको छ । 

अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ४८ करोड निक्षेप संकलन गरी तथा १८ करोड ७९ लाख सापटी लिई २ अर्ब ८ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष २ करोड ८१ लाखमा सीमित जगेडाकोषलाई थप मजबुत बनाई ३ करोड ८८ लाखको उचाईमा पुर्याएको कम्पनीले १५८.२२ प्रतिशतले बढेको चुक्तापूँजी अनुसार नाफा भने मेन्टेन गर्न सकेन । फलस्वरुप, अघिल्लो वर्ष ११.५३ रुपैयाँ कायम प्रतिसेयर आम्दानी(इपीएस) घटेर ६.९४ रुपैयाँमा सीमित बन्न पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.२७ रुपैयाँ कायम भएको छ ।