-भक्तराज रसाइली 
काठमाण्डौ । लाभांश दरमा चलखेल गरेका कारण मञ्जुश्री फाइनान्स समस्यामा पर्ने देखिएको छ । 

यो कम्पनीले लाभांश दरमा चलखेल गरी संस्थागत रुपमै इन्साइडर ट्रेडिङ गरेको दाबीसहित नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले आवश्यक प्रमाण र कागजातको साथमा कम्पनीमाथि कडा कारबाहीको माग गर्दै नियामक धितोपत्र बोर्डलाई पत्राचार गर्ने भएको हो । 

केही समययता व्यक्तिगत सेयरलगानीकर्ता भन्दा पनि संस्थागत रुपमा इन्साईडर ट्रेडिङ गर्ने प्रबृत्ति मौलाएको देखिन्छ । सूचिकृत कम्पनीका संचालकहरु र उच्च तहका कर्मचारीले नै लाभांश सम्बन्धी सूचनामा खेल्दा यसले सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा परिरहेको छ भने संस्थागत सुशासनप्रति पनि गम्भीर प्रश्न उब्जिएको छ । 

यसअघि लाभांश सम्बन्धी सूचनामा ढिलो गरी पठाउने र खेल्न खोज्ने कम्पनीको कारोबार निलम्बन गरी स्पष्टीकरण सोधी छाडिदिने नेप्सेले मञ्जुश्रीको फट्याईविरुद्ध भने कडा कदम चाल्ने बुझिएको छ । संस्थागत सुशासनमा समस्या भएका घटनाहरु धेरै आउन थालेपछि र मञ्जुश्रीको इस्यू केही गम्भीर खालको देखिएपछि ऊमाथि आवश्यक कारबाहीका लागि धितोपत्र बोर्डमा लिखित सिफारिस गर्न लागिएको नेप्सेको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । 
 

यो फाईनान्सले २ पटक लाभांशको छुट्टाछुट्टै सूचना मार्फत उक्त कम्पनीको बजारमूल्यमा प्रभावित पार्ने सूचना सम्प्रेषण गरेका हुनाले नेप्सेले  कम्पनीको जवाफ माग गर्दा नेपाल राष्ट्र बैंकबाट ९ प्रतिशतको लाभांश २ प्रतिशतमा झारिएको व्यहोरा लेखेर पठाएको प्रवक्ता पराजुलीले बिजशालालाई बताए । ‘अब सबै कागजात तयारी अवस्थामा छ, बोर्डलाई पत्र पठाउनेछौ ।’–उनले थपे ।

स्मरण रहोस्, यसअघि पनि नेपाल बैंक लिमिटेडको एफपीओ अनैतिक किनबेच हुन लागिरहेको बेला बिजशालाले निरन्तर फलोअप गरेर नेप्सेको सिस्टम मुताविक नै हुनुपर्ने आवाज उठाउँदा सोको कार्यान्वयनमा बोर्ड र नेप्सेले दरिलो अडान लिएको नजिर छ । 

अब हेर्न बाँकी छ कि सेबोनले संस्थागत इन्साइडरलाई चेप्छ वा कठोर सजायको भागीदार बनाउनेतर्फ लाग्छ । एउटा कडा कदमले भोलिका दिनमा सेयरको मूल्यमा असर पार्ने यस किसिमको संवेदनशील र गलत कामको श्रृंखला अन्त गरिदिनसक्छ । 

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ मा धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सम्झौतामा उल्लिखित समयमा धितोपत्र बजारमा पेश नगर्नुलाई गैरकानूनी काम भनी व्याख्या गरिएको छ । 

यस्तै, धितोपत्र बजारलाई गलत सूचना दिएमा वा पटक–पटक सूचना परिवर्तन गरेमा त्यो पनि गैरकानूनी हुनेछ । 

यस्तो गैरकानूनी काम गर्ने सूचिकृत संगठित संस्थाको धितोपत्रको सूचिकरण स्थगन गर्न सकिने व्यवस्था छ ।