काठमाण्डौ । धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सलाई बिना कारबाही छाडिदिन आग्रह गरेसँगै नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीलाई सूचिकरण स्थगनको ७५ दिनपछि सफाई दिएको छ । 

नेप्सेले बुधबार एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डबाट प्राप्त पत्र र सोही आधारमा मञ्जुश्रीले समेत लेखेको पत्रलाई आधार मानी लामो समयदेखि स्थगित कम्पनीको सूचिकरण फुकुवा गरिएको प्रष्ट्याएको हो । 

बोर्डले फागुन १० गते नेप्सेलाई पत्र लेख्दै मञ्जुश्रीको धितोपत्र फुकुवा गरिदिन भनेको थियो भने मञ्जुश्रीले फागुन १३ गते सोही आशयको पत्र लेखेको थियो । ती दुवै पत्रको आधारमा मञ्जुश्रीको धितोपत्र स्थगन फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

नेप्सेले आम लगानीकर्ताले लाभांश सम्बन्धी सूचना प्रभावकारी रुपमा पाउने अधिकार चुस्त दुरुस्त कायम राख्नका लागि अझ बढी प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएको छ । अब उप्रान्त नियम विनियम तथा प्रचलित कानूनमा भएका व्यवस्थाहरु बमोजिम गर्न र गल्ती नदोहोर्याउनका लागि सजग गराउँदै कारबाही फुकुवा गरिएको प्रष्ट्याइएको छ । 

मञ्जुश्रीले लाभांश सम्बन्धी सूचनामा खेलेको भन्दै मंसिर २६ गते नेप्सेले यसको सूचिकरण स्थगन गरिदिएको थियो । 

मञ्जुश्रीले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । ९ प्रतिशत नगद लाभांश पाउने लोभमा यो कम्पनीको सेयर किनेका लगानीकर्ताहरु त्यसबेला जिल्लिए, जब यो कम्पनीले राष्टबैंकबाट अस्वीकृत भएको भन्दै लाभांश दर घटाएर २.९ प्रतिशतमा झारिदियो ।

यो सूचना लगानीकर्तालाई समयमै नदिएको र लाभांशमा खेलेको आरोप मञ्जुश्रीमाथि लागेको थियो । मञ्जुश्रीको सूचिकरण नै खारेज हुनेसम्मको कानूनी अधिकार प्रयोगका लागि नेप्सेले धितोपत्र बोर्ड समक्ष कारबाहीको सिफारिस गरेको थियो । तर, बोर्डले लामो समय यो विषयलाई छानबिनको बाहानामा अल्झाएको थियो । ७५ दिनसम्म कम्पनीको सूचिकरण स्थगनलाई पुष्टि हुने कुनै आधारबिना नै धितोपत्र बोर्डले प्रभावमा परेर नेप्सेलाई पत्र लेखेको देखिन्छ ।