काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५.२७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको समीक्षा अवधिमा सञ्चालन मुनाफा ३ करोड ७९ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ३ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी १२ करोड ९८ लाख रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६ करोड ९१ लाख रुपैयाँ थियो । यसले संस्थाका व्यावासयिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाले ५ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाको रिजर्भको आकार समीक्षा अवधिमा १८ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार १५ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १३.७३ रुपैयाँ रहेको छ । संस्थाको पीई रेसियो भने ९.२५ प्रतिशत रहेको छ ।