काठमाण्डौ । मध्यराति सुनियोजित रुपमा मतपत्र च्यातिएपछि प्रमुुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले १ बजेर २० मिनेट जाँदा सूचना प्रकाशित टाँस गरी मतगणना कार्य अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन् ।

योसँगै भरतपुरको जारी मतगणना कार्य अन्यौलग्रस्त बनेको छ । कडा सुरक्षाघेराभित्र मतपत्र च्यातिएको, हुलदंगा भएको र सो क्रममा प्रहरी घेराभित्रै अनाधिकृत रुपमा पास नभएका मानिसहरु बाहिरबाट प्रवेश भएका देखिएपछि घटना योजनाबद्धले गराइएको आशंका गरिएको छ ।

घटनामा माओवादी कार्यकर्ताहरुको सहभागिता रहेको देखिएको छ । एउटा वडाको मत गन्न बाँकी हुँदा पनि रेणुु दाहालले एमालेका देवी ज्ञवालीसँगको मतअन्तर घटाउन नसकेपछि पूर्व योजनाअनुसार नै घटना भएको देखिन्छ । सत्तापक्षका दुुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेद्वार रहेकी रेणुु दाहाल(प्रधानमन्त्रीपुत्री)लाई जिताउनका लागि सत्तापक्षले शक्तिको दुरुपयोग गरेर पूर्वयोजना अनुसार नै मतपत्र च्यातेको एमालेको आरोप छ । 

प्रहरीमाथि शंका
यसैबीच, मतगणनास्थलको सुरक्षामा खटिएका प्रहरी पनि शंकाको घेरामा तानिएका छन् । उनीहरुले पास नभएको समूहलाई मतगणनाजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गर्न दिएका थिए । ती प्रहरीहरुले आफूहरुले रोक्दा रोक्दै मानिसहरु भित्र छिरेका संचारमाध्यमहरुमा प्रतिक्रिया दिएका छन् । यसबाट समेत पास नभएकाहरुलाई मतगणनास्थलमा प्रवेश गराउने पूर्वयोजना अनुसार नै थियो भन्ने देखिन्छ । मतगणना कार्य अन्तिम अवस्थामा भएको बेला कुनै अप्रिय घटना हुुनसक्ने संकेत पाएपछि अपरान्हदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । कडा सुरक्षा घेरालाई छिचोलेर पास नै नभएका माओवादी कार्यकर्ताहरुको समूह कसरी गणनास्थलमा छिरे भन्ने बिषय नै मुख्य शंकाको बिषय बनेको छ । 

मुख्य निर्वाचन अधिकृतको अभिव्यक्ति शंकास्पद
यो समाचारको तल राखिएको भिडियोमा मुख्य निर्वाचन अधिकृत न्यौपानेले आफू पिसाब फेर्न गएको बेला मतपत्र च्यातिएकोले आफूलाई केही थाहा नभएको बनिबनाउ जवाफ दिएका छन् । मुख्य निर्वाचन अधिकृत बाथरुम गएकै बेला मतपत्र च्यातिनुु, प्रहरीले मतपत्र च्यात्ने कार्यमा संलग्न माओवादी कार्यकर्तालाई पक्राउ गरिसक्दा समेत मुख्य निर्वाचन अधिकृतले चाहि आफू बाथरुम गएको र अन्य बिषय केही थाहा नभएको भनी अभिव्यक्ति दिनुलाई शंकास्पद रुपमा हेरिएको छ।

मतपत्र च्यात्नेलाई रोक्ने पनि पक्राउ
मतपत्र च्यात्ने कार्यको अगुवाई माओवादी कार्यकर्ताहरुले गरेका थिए । यहीकारण प्रहरीले वाइसिएलका चितवन अध्यक्ष मधुु न्यौपाने र रेणुु दाहालको प्रतिनिधि द्रोण शिवाकोटीलाई पक्राउ गरेको छ । तर, उनीहरुले मतपत्र च्यातिरहँदा रोक्न खोज्ने एक एमाले कार्यकर्तालाई समेत पक्राउ गरिएको सूचना आएको छ । यसरी मतपत्र च्यात्ने र सो कार्यको प्रतिरोध गर्नेलाई समेत पक्राउ गरेर प्रहरीले घटनालाई गञ्जागोल बनाउने संभावना छ । घटनामा एमाले कार्यकर्ताको समेत संलग्नता थियो भन्ने देखाउनैका लागि पूर्वयोजना अनुसार नै कतै यस्तो गरिएको त होइन भन्ने आशंका समेत गर्न थालिएको छ । 

देवी ज्ञवालीले भने–‘सत्तापक्षबाट तानाशाही र बर्बर काम भयो’
एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले निर्वाचन परिणाम एमालेको पक्षमा आइरहेको बेलामा सुनियोजित ढंगले नै मतपत्र च्यातिएको र तोडिकएको दाबी गरे । ‘सुनियोजित ढंगले मतपत्र च्यात्न लगाइयो, लोकतान्त्रिक अभ्यास र प्रणालीलाई तोड्ने लज्जास्पद काम हुन गएको छ ।’ ज्ञवालीले भने–‘यो निन्दनीय छ । यो बर्बर, तानाशाही र जंगली क्रियाकलाप देखियो ।’ उनले आफूहरुले कुनै घटना हुँदैछ भनेर पटक पटक प्रहरीलाई सूचना दिए पनि सजगता नअपनाएको भन्दै शंकाको सूूइँ प्रहरीतर्फ समेत घुमाइदिएका छन् । 

उनले सत्तारुड दलका उम्मेद्वारहरुले हार्ने भएपछि षड्यन्त्र हुँदैछ, मतपत्रहरुमा तेजाब खन्याइँदैछ भन्ने हल्ला दिउँसोदेखि नै सुनिएको र सो बिषयको सूचना आफूहरुले बेलैमा प्रहरीलाई दिएको दाबी गरेका छन् । ‘तर यस्तो घृणित काम त के गर्लान् र भन्ने लागेको थियो ।’ ज्ञवालीले भने–‘आज व्यवहारबाट देखियो ।’ 

भिडियो :