काठमाण्डौ । भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने आफ्ना कार्यकर्तालाई माओवादीले खादा लगाएर सम्मान गरेको छ । 

माओवादीको स्थानीय नेतृत्वले मतपत्र च्यातेर राम्रो काम गरेको भन्दै अदालतको जनही १ लाख धरौटिमा रिहा गर्न आदेशपछि छुटेका माओवादी कार्यकर्ता मधुु न्यौपाने र द्रोण शिवाकोटीलाई खादासहित सम्मान गरेको हो । 

उनीहरु दुईजनाले भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा जेठ १४ गते मध्यरातमा सुनियोजित ढंगले मतपत्र च्यातेका थिए । सोही आरोपमा प्रहरीले उनीहरुलाई घटनास्थलबाट पक्राउ गरेको थियो । न्यौपाने वाइसिएलका जिल्ला अध्यक्ष हुन् भने शिवाकोट महाधिवेशन आयोजक समिति सदस्य हुन् । 

चितवनको जिल्ला अदालतका न्यायधीश बासुदेव पौडेलको इजलासले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ माको उपदफा २ बमोजिम धरौटीमा छाड्न आदेश दिएका बताइएको छ । मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जबरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिबाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

यसैबीच, मतपत्र च्यातेको आरोप नै पुष्टि भइसकेपछि सोही कसूरमा जनही १ लाख धरौटिमा रिहा भएकाहरुलाई माओवादीले भने सम्मान गरेको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा पुत्र प्रकाश दाहालले दुवैको खादा लगाएको फोटो अपलोड गर्दै उनीहरु दुवैजना निर्दोष प्रमाणित भएको दाबी गरेका छन् । प्रकाशले आफ्नो फेसबुकमा स्टाटस पोस्ट गर्दै लेखेका छन्–‘सत्यको अन्तमा जित हुन्छ । चितवनमा भएको घटनाकै दिन पक्राउ पर्नु भएका कमरेड आज निर्दोष साबित भई रिहा हुनु भयो । कसै सोचेका होलान् एक झुटलाई हजार पटक भनेपछि त्यो सत्य हुन्छ तर कदापी त्यो नसोचे हुन्छ । झुट झुट नै हो सत्य सत्य नै । झुटलाई चिर्न सफल कमरेडहरुलाई स्वागत छ ।’