काठमाण्डौ । मदन भण्डारीको २५ औं स्मृति दिवसकै दिन एमाले र माओवादीबीच पार्टी एकता हुने भएको छ । यी दुई सत्तासीन कम्युनिष्ट पार्टीबीच एकता भएसँगै  नेकपा एमाले र माओवादी केन्द्र इतिहासको पानामा सीमित हुनेछन् । त्यति मात्र होइन, मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज)लाई मार्गनिर्देशक सिद्धान्त मान्दै आजको अवस्थामा आएको एमालेले त्यसलाई त्याग्न समेत सहमति जनाएको छ ।

नेताहरुले मदन भण्डारीको स्मृति दिवसकै दिन पार्टी एकता गरेर उनलाई सच्चा श्रद्धाञ्जली दिन लागिएको दाबी गरिरहेका बेला भण्डारीको भौतिक शरीरको अन्त भएकै दिन उनले प्रतिपादन गरेको जबजको समेत दुःखद अन्त हुने भएको छ । किनभने पार्टी एकताको क्रममा एमालेका शीर्ष नेता जबज त्याग्न तयार भएका छन् भने माओवादीले समेत प्रचण्डपथ वा २१ औं शताब्दीको नौलो जनवादप्रतिको अडान त्याग्नेछ । 

अब दुवै पार्टी मिलेर जबज र नौलो जनवादलाई फ्यूजन गरी नयाँ मार्गनिर्देशक सिद्धान्त तयार गरिने नेताहरुले बताएका छन् । यसको अर्थ पार्टी एकताको नाममा मदन भण्डारीसँगै उनको सिद्धान्त जबज समेत अब स्मृतिमा रहनेछ । 

यसरी मिल्दैछ कुरा
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग बुधबार बिहान गरेको वान टू वान वार्तापछि एमालेको स्थायी समिति बैठक र माओवादीको सचिवालय बैठक डाँकिएको थियो । स्थायी समिति बैठकमा एमाले अध्यक्ष ओलीले जबज छाड्नुपर्ने अवस्था सिर्जना भएको बताएका थिए । त्यस्तै, उनले नेपाल कम्युनिष्ट पार्टीको रुपमा नयाँ पार्टी जन्मने र बिहीबार नै निर्वाचन आयोगमा दर्ता गर्ने गरी तयारी थाल्न निर्देशन समेत दिएका थिए । 

उनले बैठकमा बताएको कुरा उद्धृत गर्दै एक स्थायी समिति सदस्यले बताएअनुसार एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ । जसमध्ये २४१ सदस्य एमालेबाट र २०० सदस्य माओवादीबाट आउनेछन् । यसअघि माओवादीले ५०/५० प्रतिशतको आधारमा पार्टी एकता हुनुपर्ने अडान लिए पनि अन्तिम अवस्थामा प्रचण्डले ४५ प्रतिशत लिएर एमालेलाई ५५ प्रतिशत दिने सहमति जनाएका हुन् । 

यस्तै, २ पार्टी एक भई बन्ने नयाँ पार्टीको स्थायी समिति ४३ सदस्यीय बनाउने सहमति भएको छ । जसमा एमालेले २५ र माओवादीले १८ सदस्य पठाउन पाउनेछन् । 

एकीकृत पार्टीको चुनाव चिन्ह भने सूर्य रहने भएको छ । एमालेले सूर्य चुनाव चिन्ह प्रयोग गर्दै आएको छ भने माओवादीको चुनाव चिन्ह गोलाकारभित्र हसियाहथौडा रहेको थियो । यस्तै, एमालेले माओवादीको युद्धलाई जनयुद्धको रुपमा स्वीकार गरी सोही अनुसार एकीकृत पार्टीको दस्तावेजमा समावेश गराउने सहमति जनाएको छ । 

नेताहरुका अनुसार बिहीबार बिहान पार्टी एकता संयोजन समितिको बैठक बसी पार्टी एकताको औपचारिक निर्णय लिनेछ । त्यसपछि साँझसम्म पार्टी एकताको घोषणा हुनेछ ।