कोलम्बो । महिलाहरुलाई पनि मदिरा उपयोग गर्न अनुमति दिने निर्णय खारेज गर्न लागेकोमा श्रीलङ्काका महिलाले विरोध जनाएका छन् । 

उनीहरुले महिलाको आधारभूत अधिकार हनन हुनेगरी सरकारले निर्णय उल्ट्याउन लागेको भन्दै सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेका यहाँको राज्य संचालित सञ्चार माध्ययमले बिहीबार जनाएको छ । 

केही दिन अगाडी अर्थ मन्त्रालयले गरेको निर्णयलाई खारेज गर्न सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि महिलाले मदिरा प्रतिबन्धको निर्णय खारेजका लागि अदालतमा चुनौती दिएका हुन् । 

श्रीलङ्काको सरकारले केहीदिन अगाडी महिलाले मदिरा पसलमा काम गर्न वा मदिरा उपयोग गर्न पाउने व्यवस्था गर्ने जनाएको थियो । 

प्रतिबन्ध फुकुवा गर्ने निर्णय खारेज गर्न सरकारले गरेको तयारीका विरुद्धमा लोकप्रिय अभिनेतृ समानालि फोन्सेकालगायतका महिलाहरुले सरकारलाई चुनौती दिएका छन् । 

उनीहरुले सरकारको यो कदमलाई देशका महिलाका लागि निष्ठुर, अव्यवहारिक, अवैज्ञानिक, पुरातनवादी र विभेदकारी कदमको संज्ञा दिएका छन् ।
सरकारले केहीदिन पहिलो महिलाहरूले अब लाइसेन्सप्राप्त मदिरालय वा रेस्टुरामा काम गर्न वा मदिरा पिउन कसैको अनुमति लिनुनपर्ने निर्णय गरेको थियो । 

अर्थमन्त्रीले महिलाहरुलाई पनि मदिरा प्रयोग तथा बेचविखन गर्न खुल्ला गरिएको घोषणा गरेपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले खारेज गर्न आह्वान गर्नुभएको थियो । 

राष्ट्रपति सिरिसेनाले सन् २०१६ मा पनि पछिल्ला वर्षहरुमा देशमा रक्सी सेवन गर्ने महिलाहरुको संख्या नाटकीय रूपमा बढेको बताउनु भएको थियो । 

६० वर्षभन्दा बढी समयपछि पहिलो पटक १८ वर्ष उमेर नाघेका महिलाहरूलाई मादक पदार्थ खरिद गर्न अनुमति दिने निर्णय गरेको अर्थमन्त्रीले घोषणा गर्नु भएको थियो । 

महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को एउटा कानुनमा संशोधन गर्ने तयारी गरेको थियो । 

अर्थ मन्त्रालयले स्थानीय समय अनुसार बेलुका ११ बजेसम्म मदिरा पसल खोल्न पाइने व्यवस्था गरिने बताउनु भएको थियो । 

सरकारको यो निर्णयप्रति धेरैले सकारात्मक प्रतिक्रिया दिएपनि कतिपयले भने यस निर्णयका कारण महिलाहरू रक्सीको लतमा फस्नसक्ने चिन्ता व्यक्त गरेका छन् । श्रीलंकामा बहुसंख्यक महिलाहरू मदिरालाई आफ्नो संस्कृतिको विपरीत ठान्छन् । 

अर्थमन्त्रीले कानून परिमार्जनको घोषणालाई सामाजिक सञ्जालमा धेरैले स्वागत गरेका छन् र सरकारलाई त्यसका लागि धन्यवाद पनि दिएका छन् ।