दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरी मधुमेहका औषधि उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ ।

कोरियाको जनस्वास्थ्य निकायले मङ्गलबार दिएको जानकारी अनुसार ‘कार्सिनोजिन’ को मात्रा रहेको र यसको प्रयोगले क्यान्सरको जोखिम रहने अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा विक्रीलाई प्रतिबन्धित गरिएको हो । 

ती सबै मेटफर्मिनमा–आधारित औषधि हुन् । यी सबै टाइप–२ को विरामी अर्थात वयस्क विरामीहरूका लागि सिफारिस हुने औषधि हुन्। 

कोरियाली खाद्यय तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिहरूमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए नभएको परीक्षण भइरहेको बताएको छ ।

“परीक्षण भएकामध्ये ३१ औषधिमा एन–नाइट्रोसोडियमथाइलामाइनको मात्रा अनुमति दिइएकोभन्दा बढी भएको पाइएको छ,” मन्त्रालयले भनेको छ ।

औषधीजन्य उक्त पदार्थको मात्रा निकै थोरै भएकोले यसका कारण विगतमा औषधि सेवन गर्ने विरामीको स्वास्थ्यमा भने समस्या नहुने बताइएको छ ।

प्रतिबन्धित गरिएका यी औषधिको सेवन गर्ने विरामीको सङ्ख्या  हाल कोरियामा दुई लाख ६० हजार रहेको उल्लेख गरिएको छ ।

जेडब्ल्यु फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गल्ुलेस–एम र ग्लाइमफोल चक्कीहरूजस्ता प्रतिबन्धित औषधिहरूमा ‘कार्सिनोजिन’को मात्रा बढी भेटिएको हो ।