काठमाण्डौ । मनकामना लघुवित्त वित्तीय संस्थाले औपचारिक रुपमा आफ्नो कारोबार सोमबारदेखि सुरु गरेको छ । 

भैरहवाको सिद्धार्थनगरमा मुख्य कार्यालय रहेको यो कम्पनीले सोमबार एक समारोहका बीच बित्तीय कारोबारको औपचारिक थालनी गरेको हो । 

नेपाल राष्ट्रबैंकका सिद्धार्थनगरका निर्देशक अशोक पौडेलले कम्पनीको कारोबारको शुभारम्भ गरेका थिए ।

यो कम्पनीले हाल रुपन्देही, कपीलवस्तु, गुुल्मी, प्यूठान, पाल्पा, अर्घाखाँची, रोल्पा, पर्वत, तनहुँ र स्यांग्जामा आफ्नो सेवा संचालन गर्नेछ । निकट भविष्यमै कम्पनीलाई राष्टिय स्तरको बनाइने कम्पनीका अधिकारीहरुले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

यसैबीच, कम्पनीले उद्घाटनको अवसरमा भैरहवा, शंकरनगर, शिवपुर, अमावा र बाँसगडीमा शाखा बिस्तार गरिसकेको जानकारी दिइएको छ । यो आर्थिक वर्षको अन्तसम्म अन्य ४ वटा शाखा समेत बिस्तार गर्ने कम्पनीको योजना छ । 

६ करोड ५० लाख चुक्ता पूँजी रहेको संस्थामा हाल ७० प्रतिशतले हुन आउने ४ करोड ५५ लाख रुपैयाँ संस्थापक शेयरधनीहरुको स्वामित्व छ। ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याइएको छ। यसको अर्थ यो कम्पनीले निकट भविष्यमै १ करोड ९५ लाख बराबरको आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्नेछ ।