काठमाण्डौ । रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड र दाङ्गको घोराहीमा केन्द्रीय कार्यालय रहेको स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने÷गाभिने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

मनकामनाका अध्यक्ष अजय गोयनका र स्मार्टका अध्यक्ष शान्ति चौधरीले भदौ २१ गते आयोजित एक समारोहबीच गाभ्ने÷गाभिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका संचालकहरु र प्रमुख कार्यकारी अधिकृतहरुको पनि उपस्थिति थियो । 

१० जिल्ला कार्यक्षेत्र रहेको मनकामना लघुवित्तको पूंजी ४ करोड ५५ लाख र कल इन एड्भान्समा रहेको २ करोड २७ लाख ५० हजार लाई पूँजीकृत गरी ६ करोड ८२ लाख ५० हजार तथा स्मार्ट लघुवित्तको १ करोड ४० लाख गरी गाभिएपछिको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार पुग्नेछ । 

सर्वसाधारणमा साधारण शेयर जारी गरेपछि संस्थाको कुल पूँजी करिव १२ करोड ५ लाख पुग्नेछ । हाल मनकामनाका १६ वटा तथा स्मार्टका ७ वटा शाखा कार्यालय रहेका छन् ।

गाभ्ने÷गाभिने समझदारी अनुसार मर्जरपछि संस्थाको नाम ‘मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहनेछ । 

केन्द्रीय कार्यालय हालको मनकामनाको कार्यालयमा रहने, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि मनकामनाबाटै हुने सहमति भएको छ । 

स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापनका कर्मचारीहरु संयुक्त कारोबारपछि ब्यवस्थापन समूहमा समायोजन हुने समझदारीपत्रमा उल्लेख छ । 

नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सहमति प्राप्त गरेको मितिले ४ महिनाभित्र एकीकृत कारोबार शुरु गर्ने सहमति भएको र मर्जरपछि बन्ने संचालक समितिमा ३÷३ जनाको प्रतिनिधित्व रहने सहमतिपत्रमा उल्लेख छ ।

मर्जरका लागि स्वाप रेसियो एक बराबर एक हुने तथा सम्पत्ति तथा दायित्वको मूल्यांकनपछि १० प्रतिशतभन्दा बढीको फरक पर्न आए आपसी सहमतिमा स्वाप रेसियो निर्धारण गर्ने सहमतिमा उल्लेख छ । 

१८ महिनाअघि संचालनमा आएको मनकामनाको करिव ४७ करोड कर्जा, ११ करोड बचत र ८ हजार सदस्य रहेका छन् । गैर सरकारी संस्थाबाट लघुवित्तमा रुपान्तरण भई ८ महिनादेखि संचालनमा आएको स्मार्टको १४ करोड कर्जा, ७ करोड बचत र ७ हजार सदस्य रहेका छन् । मनकामनाले गत आ.व.मा करिब ५६ लाख खुद मुनाफा गरेको छ भने स्मार्टको करिव ५ लाख घाटा रहेको छ ।