-भक्तराज रसाइली
काठमाण्डौ । सोह्र वर्षअघि आफूले किनेको नेपाल बैंकको ७ सय कित्ता सेयर आफ्नो नाममा नामसारी गर्न अनवरत लडिरहेका एक पीडित लगानीकर्ता मनिस लोहियाले आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)मा उजुरी हालेका छन् । 

नेप्सेमा उनले यही विषयमा न्याय पाउने आशासहित उजुरी हालेको यो चौथो पटक हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले १६ वर्षअघि किनेको नेपाल बैंंक लिमिटेडको ७ सय कित्ता सेयर हालसम्म पनि नपाएका मनिस लोहियालाई  पुनः निवेदन गरे न्याय दिने भन्ने आश्वसन पाएपछि आज आइतबार नेप्सेमा मनिस लोहिया स्वयं उपस्थित भई निवेदन पेश गरेका छन् ।

आफूले १६ वर्षअघि किनेको नेपाल बैंकको ७ सय कित्ता सेयर नामसारी नगरिदिएपछि पीडित बनेका लोहियाले यसअघि २०६९,२०७१, २०७३ मा समेत तत्कालीन नेप्सेका कर्मचारीबाट न्यायको आशा गर्दै उजुरी हालेका थिए । यसअघि उनले हालेको उजुरीप्रति नेप्सेका कर्मचारीबाटै बेवास्ता भएपछि उनले न्याय पाएका थिएनन् । 

तर, यो पटक भने बिजशालाले उनको पीडाको विषयमा विशेष रिपोर्ट प्रकाशन गरेसँगै नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै न्याय दिन प्रयास गर्ने आश्वासन दिएपछि शनिवार धरानबाट काठमाण्डौका आएका लोहियाले आइतबार सीइओ साउदलाई सम्बोधन गर्दै उजुरी हालेका हुन् ।  

आइतबार उनले नेप्सेमा दर्ता गराएको उजुरीको नम्बर ३०८७/१२/३ हो ।

लोहियाको समस्या विशिष्ट खालको देखिएकै कारण उनलाई नेप्से सीइओ साउदले भेट समेत गरे । करिब एकघण्टा साउदलाई लोहियाले आफू पीडामा परेको गुनासो गरेका थिए । 

‘धरानबाट काठमाण्डौंसम्म म न्याय पाउने आशासहित आएको हुँ ।’ साउदसँग भेटेपछि लोहियाले बिजशालासँग भने–‘अरु बेला नेप्सेका कर्मचारीसँग मात्र भेट हुन्थ्यो, यसपालि मुख्य हाकिमबाट जसरी भए पनि न्याय दिलाइछाड्ने वचन आएको छ, म खुशी र आशावादी छु ।’

नेप्सेको क्षेत्राधिकार भित्र आफूहरुले लोहिया प्रकरणमा मिहीन छानबिन गर्ने वचन समेत साउदले सो क्रममा दिएका थिए । ब्रोकर, नेपाल बैंक वा सिभिल क्यापिटल, कहाँबाट कति कमजोरी भयो भन्ने बिषयमा समेत आफूहरुले अध्ययन गर्ने उनले सो क्रममा बताएका थिए । 

साउदले लोहियाको जस्तो घटनामा पीडितले न्याय पाएको यसअघि नजिर समेत रहेको उल्लेख गर्दै उनलाई न्याय दिलाउन सकारात्मक भूमिका खेल्ने बिजशालालाई बताए । 

वि.सं.२०५९ सालमा मनिस लोहियाले दोस्रो बजारमार्फत किनेको गंगा अमात्य नाममा रहेको सेयर हालसम्म पनि उनको नाममा नामसारी भएको छैन । यो प्रकरण विभिन्न सम्बद्ध निकायमा फनफनी घुमिरहेको १६ वर्ष भए पनि पीडितले न्याय पाउन सकेका छैनन् । सम्बद्ध निकाय एकअर्कामाथि दोष थोपर्दै बस्दा पीडित लोहियाले आफ्नो सम्पत्ति संरक्षणको हकबाट समेत बञ्चित हुँदै आएका छन् । 

 

सम्बन्धित समाचार: