काठमाण्डौ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने बिषयलाई लिएर माओवादीभित्र भाँडभैलो सुरु भएको छ । विभिन्न गुटका नेताहरुले आफ्नालाई काखी च्याप्न थालेपछि कसलाई सरकारमा पठाउने र कसलाई रोक्ने भन्ने बिषयमा निर्णय लिन पार्टी अध्यक्ष प्रचण्डलाई निकै सकस भएको उनी निकट स्रोतले जनाएको छ । 

मंगलबार शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा पुुग्दैछन् । उनको नेतृत्वमा सरकार गठन हुने समय आएकोले प्रचण्डलाई दवाबको ओइरो छ । कांग्रेस नेतृत्वको सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्नेदेखि मालदार मन्त्रालयमा जानेसम्मको कुरामा नेताहरुबीच दौडधूप चलेको छ । प्रचण्डले आफूलाई मनपर्नेलाई मालदार मन्त्रालयमा पठाउन खोजेको सूूइँको पाएपछि नारायणकाजी श्रेष्ठ(प्रकाश), टोपबहादुर रायमाझी लगायतका नेता बिच्किएका छन् । रायमाझीले सरकारमा पार्टीको तर्फबाट नेतृत्व आफूले गर्न पाउनुपर्ने माग गरिरहेका छन् भने नारायणकाजी श्रेष्ठले भने आफ्ना समूहका गिरिराजमणि पोखरेललाई सरकारमा पार्टीको नेतृत्व दिनुपर्ने अडान लिइरहेका छन् । 

मुख्य गरी सरकारमा पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा माओवादीभित्र भाँडभैलो छ । प्रचण्ड स्वयम्ले चाहि कृष्णबहादुर महरालाई नेतृत्व दिन खोजेका छन् । उनलाई परराष्ट्रमन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने र जनार्दन शर्मालाई गृहमन्त्रालय दिने प्रचण्डको तयारी छ । तर, यो कुरामा पार्टीभित्र सहमति कायम हुन सकेको छैन । सधैंभरि एउटै अनुहारलाई दोहोर्याउन नहुने भन्दै टोपबहादुर रायमाझीले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान लिइरहेका छन् । उता, पूर्व गृहमन्त्री शक्ति बस्नेतले समेत स्थानीय निर्वाचनको पहिलो चरणमा आफ्नो प्रदेशमा माओवादी(पार्टी)को इज्जत राखेको ब्याज खाने दाउ हेरिरहेका छन् । अग्नी सापकोटा र हरिबोल गजुरेल पनि सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने भन्दै खुट्टा उचालेर बसेका छन्। आकांक्षी धेरै, तर भागमा पर्ने मन्त्रालय चाहि थोरै भएपछि प्रचण्डका लागि मन्त्रीका आकांक्षीहरुको व्यवस्थापन मुख्य चुनौति बनेको माओवादीका एक केन्द्रीय सदस्यले बताए । 

उता, निकै शक्तिशाली र मालदार मन्त्रालयको रुपमा चिनिने गृहमन्त्रालय यसपटक माओवादीको भागमा पर्दैछ । अर्थमन्त्रालय भने कांग्रेसले लिने यसअघि नै सहमति भइसकेको छ । आफ्नो भागमा पर्ने गृहमन्त्रालयमा जान समेत धेरै नेताहरुको दौडधूप चलिरहेको छ । मुख्य रुपमा पूर्व गृहमन्त्री शक्ति बस्नेत, कृष्णबहादुर महरा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल लगायतका नेताहरु गृहमन्त्रीको जिम्मेवारी आफूले पाउनुपर्ने भन्दै तीव्र लविङ गरिरहेका छन् । ‘अध्यक्ष कमरेडले चाहि गृहमन्त्रालय जनार्दन शर्मालाई दिने मन गर्नुभएको जस्तो देखिन्छ ।’ ती माओवादी नेताले भने–‘शर्मालाई उर्जामै दोहोर्याएर पठाउनुपर्छ भन्ने नेताको संख्या पनि पार्टीभित्र ठूलै छ ।’ 

अन्य मन्त्रालयमा पनि दौडधूप
माओवादीले पाउने अन्य मन्त्रालयमा जान मन गर्ने नेताहरुको लाइन समेत लामै छ । गणेशमान पुन, रेखा शर्मा, अजयशंकर नायक, दलजीत श्रीपाली, गौरीशंकर चौधरी, धनीराम पौडेल पुनः मन्त्री हुने लाइनमा छन् । उनीहरुबाहेक शिवकुमार मण्डल, अमर मण्डल, प्रभू साह, अशोक जयसवाल, हितराज पाण्डे, महेन्द्रबहादुर शाही, सीता नेपाली, हरि ज्ञवाली, रामनारायण बिडारी, टेकबहादुर बस्नेत, कृष्ण धिताल, अनिता परियार लगायतका नेताहरु समेत मन्त्री बन्नलाई दौडधूप गरिरहेका छन् ।