काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी विभिन्न निर्देशन दिएका छन् ।

असार १६ गते सम्पन्न सो निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले, ‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट योगदान गर्नु पर्छ र गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधैँ एक नम्बरमै भइरहनु पर्छ’ भनेका थिए । उनले ‘स्मार्ट नेपाल’ बनाउन नेपाल टेलिकम पनि ‘स्मार्ट’ हुनु पर्ने बताउँदै यसबाट डिजिटल नेपाल बनाउने सरकारको चाहनासमेत पूरा गर्न सहयोग पुग्ने बताए । 

उनले भने, ‘नेपाल टेलिकमले पूर्वाधारको विकासमा जोड दिदै जनताको घर घरमा सेवा पु¥याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने किसिमको योजना बनाउनु पर्छ र यसका लागि आवश्यक नीति, योजना र कार्यक्रम निर्माणमा आगामी दिनमा मन्त्रालयको संलग्नता रहिरहने छ ।’

कम्पनीमा क्रियाशील युनियनहरुको ज्ञान, सीप र क्षमता सहकर्मीहरुको हितमा मात्र नभई संस्थाको हितमा पनि उपयोग गर्नु पर्ने कुरामा मन्त्री बाँस्कोटाले जोड दिए । उनले अधिकार खोज्ने मात्र नभई, कर्तव्यको पनि पालना गर्नुपर्ने कुरा युनियनहरुलाई स्मरण गराउँदै राजनीति गर्नका लागि मात्र युनियनलाई प्रयोग नगर्न आग्रह गरे ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्दै प्रविधिको दु्रत परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजार जस्ता कम्पनीका वर्तमान चुनौतीको सामना गर्न सम्पूर्ण कर्मचारीहरुलाई इमान्दारीताका साथ आफ्नो कर्तव्य पालनामा क्रियाशील हुन आग्रह गरिन् ।

उनले कम्पनीका ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिने, सेवाको मर्मत सम्भारलाई अझ छिटो छरितो पार्ने र कम्तीमा १० प्रतिशत ग्राहक संख्या र कम्तीमा १० प्रतिशत राजस्व वृद्धि गर्ने कम्पनीको उद्देश्य परिपूर्ति गर्न अनुशासित र एकजुट भई आ–आफ्नो क्षेत्रबाट कार्य गर्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरिन् ।

सो अवसरमा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक अमरनाथ झाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रको वर्तमान स्थिति, कार्यक्रम र गतिविधि वारेमा जानकारी गराएका थिए।

पूर्वाञ्चल क्षेत्रको निरीक्षण भ्रमणको सिलसिलामा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले असार १४ गते झापा जिल्लाको खुदुनावारीमा जडान गरिएको एम सान एक्सचेन्ज उद्घाटन गरे । सो एक्सचेन्जमार्फत तत्काल एडीएसएल सेवा सहितको १ सय ४४ लाइन टेलिफोन वितरण गर्न सकिने छ ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाली जनताको धरोहरको रुपमा रहेको नेपाल टेलिकमले विगतमा जस्तै भविष्यमा पनि नेपालीको घरदैलोसम्म गुणस्तरीय एवं सुलभ दूरसञ्चार सेवा पुर्याउने प्रतिवद्धता ब्यक्त गर्दै कम्पनीले भविष्यमा पूर्वाञ्चल क्षेत्रमा ७ सय ५ वटा फोरजीका टावर सञ्चालनमा ल्याउने र त्यसबाट कुल १२ लाख ६० हजार ३ सय ५ लाइन क्षमता र हालसम्मकै उच्च गतिको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध हुने जानकारी गराइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले पूर्वाञ्चाल क्षेत्र अन्तर्गतका दूरसञ्चार कार्यालय विर्तामोड, इटहरी र धरानको पनि निरीक्षण भ्रमण गरेका थिए ।

सो भ्रमणको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव प्रणवराज न्यौपाने, कम्पनीका प्रमुख वित्तीय अधिकृत सूर्यभक्त पोखरेल, प्रबन्धक देवेन्द्र खतिवडा, प्रबन्धक रामनरेश कुँवर र उप–प्रबन्धकहरु अनन्त प्रकाश मल्लिक र प्रेम प्रसाद सिलवाल लगायत सो क्षेत्रका कार्यालय प्रमुखहरु एवं अन्य वरिष्ठ कर्मचारीहरुको सहभागिता रहेको थियो ।