काठमाण्डौ । पहुँचवाला र सामान्य नागरिकको कोरोना परीक्षणमा राज्यले हदैसम्म विभेद गरेको देखिएको छ । 

कुनै सामान्य नागरिकले कोरोनाको संक्रमणबाट ज्यान गुमाउँदासम्म उसको परीक्षण हुँदैन । तर, पहुँचवाला र सरकारका मन्त्रीहरुको भने परीक्षण गर्न र रिपोर्ट निकाल्न केही घण्टा समेत लाग्दैन । यसबाट समेत राज्यले पहुँचवाला र पहुँचविहीनहरुको स्वास्थ्य परीक्षणमै पनि विभेद गर्ने गरेको पुष्टि हुन्छ । 

जेठ ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजको अस्पतालमा एक ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । उनको मृत्यु लगत्तै स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट भने जेठ १२ गते मात्र आएको थियो । मृत्यु भएको ८ दिनपछि मात्र ती वृद्धको कोरोना संक्रमणकै कारण ज्यान गएको पुष्टि भएको थियो । 

रिपोर्ट पोजिटिभ आउँदासम्म अस्पतालले ढिलो रिपोर्ट आएको भन्दै कोरोना संक्रमितको शव आफन्तलाई जिम्मा लगाइसकेको थियो । आफन्तले पनि ५० जना मलामी सहभागी गराएर धार्मिक परम्पराअनुसार जेठ ५ गते ती वृद्धको दाहसंस्कार गरेका थिए । 

कोरोना संक्रमितको अन्त्येष्टि गर्ने छुट्टै प्रोटोकल छ । यस्ता संक्रमितहरुको शवबाट समेत कोरोना फैलिने भएका कारण आवश्यक सावधानी अपनाएर सुरक्षाकर्मीले सुरक्षित ढंगले शवको व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, वीरगञ्जका ती वृद्धको शव व्यवस्थापनमा हदैसम्म लापरबाही गरिएको थियो ।

यसको एउटा कारण थियो ढिलो रिपोर्ट आउनु । ४ गते संकलन गरी ५ गते पठाइएको स्वाबको रिपोर्ट दिन टेकूस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालाले ७ दिन लगाएको थियो । 

रिपोर्ट आउँदासम्म ती वृद्धका कारण थप ६ मा कोरोना संक्रमण फैलिइसकेको थियो । थप अरुमा समेत संक्रमण फैलिने खतरा देखिएको छ । 

तर, मंगलबार भने फरक दृश्य र खबर बाहिरियो । कोरोना संक्रमितको संसर्गमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आयो ।  

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको छ। उनी ६ दिनदेखि घरमै क्वारेन्टाइनमा थिए । 

शुक्रबार ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकु स्रोतले ढकालको परिक्षणका लागि मंगलबार बिहान स्वाब निकालिएको थियो। मंगलबार बिहान निकालिएको स्वाबको रिपोर्ट केही घण्टामै दिइयो । किनकि उनी विभागीय मन्त्री(पहुँचवाला) हुन् । तर, उनले झै यस्तो सुविधा अन्य नागरिकहरुले चाहि किन पाइरहेका छैनन् ? 

टेकूले मन्त्रीलाई केही घण्टामै कोरोना नेगेटिभ रिपोर्ट बुझाएको थियो । त्यसपछि उनी मंगलबार ४ बजेदेखि नै काममा सक्रिय भएका थिए, मन्त्रालय पुगेका थिए । 

स्वास्थ्यमन्त्री ढकाल बुधबार मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत पूर्व सांसदकी पत्नीलाई भेट्न गएका थिए । त्यसपछि उनी क्वारेन्टाइनमा बसेका थिए ।