काठमाडौ । विभागीय मन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, निर्देशक क्यानडामा मोज गरिरहेका भए पनि आफूहरुले दशैं खर्च नपाएको भन्दै ४ सय बढी मजदूरहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पार्ने लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

नेपाल नागरिक उड्डयन प्रधिकरणअन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट)मा कार्यरत करिब ४ सय श्रमिकले आफूहरुले दशैं खर्च नपाएको र ठेकेदारको चरम शोषण हुँदा पनि मन्त्रालयले चासो नदिएकोमा रोष प्रकट गर्दै देशको एक मात्र अन्तर्राष्ट्रिय  विमानस्थल नै ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

‘सबैतिर दशैंको माहौल छाएको छ । तर, हामी श्रमिकलाई भने दशैंमा खर्चको जोहो कसरी गर्ने भन्ने चिन्ता मात्रै छ ।’ पीडित मजदूरहरुले भनेका छन्–‘नेपाल नागरिक उड्डयन प्राधिकरणका डिजि (महानिर्देशक), निर्देशक, मन्त्री सबै क्यानडातिर मोज गरेर हिंडिरहेका छन् । श्रमिकको समस्याप्रति न त सरकार, न त हवाइ प्राधिकरण कोही कसैलाई कुनै मतलब छैन ।’ 

मजदूरहरुले यस विषयमा आफूहरुले बारम्बार कुरा राख्दा पनि सम्बन्धित निकायले चासो नदिएको दाबी गरेका छन् । ठेकेदार कम्पनीहरुले चाहि श्रमिकहरुलाई दशैं खर्च दिने आफ्नो काम नभएको भन्दै पन्छिने गरेका बताइएको छ । 

आफूहरुले पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई आफ्ना समस्याको बिषयमा जानकारी गराए पनि कुनै सुनुवाई नभएको मजदूरको गुनासो छ । 

उनीहरुले काममा लगाउने र मजदूरप्रति जिम्मेवार नहुने व्यवस्थापकलाई सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् । 

‘मजदुर मारेर एयरपोर्ट चलाउनुको आवश्यकता नरहेको हाम्रो ठहर छ ।’ मजदूरहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हाम्रा माग बेलैमा पूरा नभए एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्ट ठप्प पार्नेसम्मको कदम चाल्न बाध्य हुने छौ ।’

मजदूरहरुले असोज १८ गते  ९ बजे १० बजे सम्म एयरपोर्टभित्र रहेको ठेकेदारको अफिस घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । यसैगरी, १९ गते नागरिक उड्डयन प्राधिकरणका डिजीको कार्यकक्ष घेराउ गर्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ । 

असोज २० गते एयरपोर्टमा काम नगरी दुई घन्टा बन्द गर्ने र २१ गते सरसफाइदेखि सबै काम बन्द गरिने मजदूरको घोषणा छ ।