काठमाण्डौ । अन्तराष्ट्रिय मुद्राकोष(आइएमएफ)ले आइतबार विश्वभरका सरकारलाई सचेत गराउँदै आर्थिक वृद्धिदर अपेक्षा भन्दा कम हुने भन्दै त्यसबाट उत्पन्न हुने विषम परिस्थितिको सामनाका लागि तयार रहन आह्वान गरेको छ । 

आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टिन लगार्डले विश्व शिखर सम्मेलनमा भनेकी छिन् कि विश्वभरका देशहरुको अर्थव्यवस्थाले अनुमान भन्दा कम रफ्तारमा वृद्धि गरिरहेका छन्, जसले धेरै चुनौतिहरु ल्याइदिनसक्छन् ।

आइएमएफले अघिल्लो महिना मात्र जारी वर्षको विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशतबाट घटाएर ३.५ प्रतिशतमा सीमित गरेको थियो । 

लगार्डले विश्वको अर्थव्यवस्था सुस्त हुने केही कारण समेत पेश गर्दै आएकी छिन्, जसलाई उनी अर्थव्यवस्थामाथि मडारिने ‘चारवटा बादल’ भन्ने गर्छिन्।

उनले आर्थिक मन्दीको तुफान जुनसुकै बेला आउनसक्ने चेतावनी समेत दिएकी छिन् ।

उनले यस्तो बेला आउने जोखिमहरुमा व्यापारिक तनाव तथा शुल्क बढ्ने, राज्यकोषीय अवस्थामा तीव्र गिरावट, ब्रेक्जिटको बिषयलाई लिएर देखिएको अनिश्चितता र चीनको अर्थव्यवस्थामा भएको सुस्त गति तीव्र रुपमा बढ्दै जानुलाई प्रस्तुत गरेकी छिन् ।

उनले विश्वका दुई ठूला अर्थव्यवस्था अमेरिका र चीनबीचको जारी शुल्क युद्धको विश्वमै असर देखिन सुरु भइसकेको छ । उनले सरकारलाई संरक्षणवादबाट बच्ने सल्लाह दिंदै भनेकी छिन्–‘हामीलाई यो पटकको मन्दीको बिषयमा धेरै ठूलो अन्दाजी छैन र यो कसरी समाप्त हुन्छ भन्ने कुरामा पनि हामी प्रष्ट छैनौ । यसले व्यापार, भरोसा र बजारमा असर देखाउने कामको भने सुरुवात गरिसकेको छ ।’ 

लगार्डले कर्जाको बढ्दो लागतलाई पनि ‘जोखिम’ भनेकी छिन् । उनले भनेकी छिन्–‘जब यति धेरै बादलहरु मडारिन थालेका छन् भने आँधी सुरु हुनलाई अब बिजुलीको एक चमक नै काफी हुनेछ ।’