काठमाण्डौ । दोश्रो बजारमा सूचिकृत संगठित संस्थाहरु आपसमा गाभ्ने गाभिने सम्झौता हुँदा लामो समयसम्म सेयर कारोबार रोक्का भई लगानीकर्ताको सम्पत्ति बन्धक हुने अवस्था अब अन्त हुने भएको छ । 

धितोपत्र बोर्डले 'सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७७- को मस्यौदा तयार पारी सार्वजनिक गरेको छ। बोर्डले सो मस्यौदामा सरोकारवालाबाट भदौ ७ गतेभित्र रायसुझाव पठाउन समेत भनेको छ । सोही मस्यौदामा सूचिकृत संस्थाहरु एकआपसमा गाभ्ने तथा गाभिने प्रक्रियामा रहँदा समेत कारोबार खुल्ला गर्ने व्यवस्थाको प्रस्ताव गरिएको हो । 

संगठित संस्थाले साधारण सभाबाट गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी निर्णय भएको अर्को कार्य दिनमा धितोपत्र बजारसमक्ष शेयर कारोवार खुला गर्न निवेदन दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।

सो व्यवस्थाअनुसार संगठित संस्थाको गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न भई एकिकृत व्यवसायिक कारोवार शुरु नभएसम्म गाभ्ने गाभिने वा लक्षित संस्थाको शेयरको छुट्टाछुट्टै कारोवार गर्नुपर्नेछ।

संगठित संस्थाको शेयर कारोवार खुला गर्दा गाभ्ने संगठित संस्थाको शेयर कारोवार रोक्का हुदाँ कायम भएको पछिल्लो कारोवार मूल्यको आधारमा कारोवार हुने व्यवस्था गर्नुपर्ने समेत प्रस्ताव गरिएको छ । 

बोर्डबाट गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी कानून बमोजिम एकीकृत व्यवसायिक कारोवारको स्वीकृति प्राप्त गरेपश्चात् सोको जानकारी सहित एकीकृत व्यवसायिक कारोवार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनुपर्ने मस्यौदामा उल्लेख छ ।

त्यस्ते जानकारी प्राप्त गरेपछि एकीकृत व्यवसायिक कारोवार गर्ने दिन गाभिने संस्था र लक्षित संस्थाको शेयर कारोवार रोक्का राख्नुपर्नेछ । तर, गाभ्ने गाभिने वा प्राप्तिबाट कायम हुने संगठित संस्थाको नाम परिवर्तन हुने भएमा गाभ्ने संस्था, गाभिने संस्था वा प्राप्ति गर्ने संस्था र लक्षित संस्थाको शेयर कारोवार रोक्का राख्नुपर्नेछ ।

एकीकृत व्यवसायिक कारोवार भएको सात कार्य दिनभित्र एकीकृत शेयर कारोवार खुला गर्नुपर्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।

बोर्डले सूचिकृत संस्थाहरु एक आपसमा गाभ्ने गाभिने प्रक्रियामा आफ्नो अस्तित्व समेत कायम हुने गरी व्यवस्था गरेको छ । बोर्डले नियामक निकाय भएका सूचिकृत संस्थाहरुले समेत गाभ्ने गाभिने सम्झौता गर्नुअघि आवेदन दिनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । 

सेयर स्वाप अनुपातदेखि मर्जरको टुंगो लाग्दासम्मको अवस्था र एकीकृत कारोबार सुरु गर्दासम्मको अवस्थामा समेत धितोपत्र बोर्डको स्वीकृति चाहिने व्यवस्था समेत प्रस्ताव गरिएको छ । 

प्रस्तावित मस्यौदा यस्तो छ: