काठमाण्डौ । एभरेष्ट बैंकसँग १०० : ५० को सेयर स्वाप रेसियोका आधारमा लक्ष्मी बैंक मर्जरमा जान लागेको समाचारले सोमबारको बजारमा सो बैंकमा मूल्यमा उछाल आएको छ । 

लक्ष्मी बैंकको मूल्य कारोबार सुरु भएको पहिलो एकघण्टाभित्रै १० प्रतिशतको हाराहारीमा बढेपछि पोजिटिभ सर्किट ब्रेकर लगाइएको छ । 

एभरेष्ट बैंकसँग अपेक्षा गरेभन्दा राम्रो सेयर स्वाप रेसियोमा मर्जर हुन लागेको खबरले लगानीकर्ताले लक्ष्मी बैंकको सेयरमा खरीदारी ह्वात्तै बढाउँदा मूल्यमा उछाल आएको हो ।

बजार खुल्दा लक्ष्मी बैंकको सेयर प्रतिकित्ता रु. २३१ रुपैयाँ रहेको थियो । यो मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २५४ रुपैयाँ पुगेपछि सर्किट ब्रेकर लगाउनुपरेको हो । 

एभरेष्ट बैंकले लक्ष्मी बैंकलाई ५० बराबर १०० कित्ताको स्वापको आधारमा मर्जर गर्नसक्ने डिडिए रिपोर्टले निश्कर्ष दिएपछि सोही आधारमा मर्जरको सहमतिका लागि अन्तिम प्रयास भइरहेको छ । उच्च स्रोतहरुलाई उद्धृत गर्दै बिजशालाले आइतबार सो सम्बन्धी समाचार ब्रेक गरेको थियो । 

स्रोतहरुले लक्ष्मी र एभरेष्ट बैंकको मर्जरको निश्कर्ष यही साताभित्र आउने बताएका छन्।

यो समाचार पढ्नु भयो ?

एभरेष्टसँग १००ः५० को अनुपातमा गाभिन लक्ष्मी बैंक तयार, मर्जरको टुंगो यही साता