काठमाण्डौ । मेगा बैंकसँग कुरा नमिलेपछि जनता बैंक नेपालसँग मर्जरको प्रारम्भिक समझदारी गरेको ग्लोबल आइएमई बैंकले अन्य केही वाणिज्य बैंकलाई समेत गाभ्ने गरी छलफललाई अगाडि बढाएको छ । 

बैंकस्थित उच्च स्रोतका अनुसार पछिल्लो समय ग्लोबल आइएमई र नेपाल बंगलादेश बैंकबीचको छलफल सहमति नजिक पुगेको छ । 

ग्लोबल आइएमई बैंकले नेपाल बंगलादेश र अझै २ वटा वाणिज्य बैंकलाई समेत मिलाएर निकै ठूलो बैंक बन्ने लक्ष्य लिएको बुझिएको छ । 

नेपाल बंगलादेश बैंकका बंगलादेशी साझेदारहरुसँग समेत एकचरण कुराकानी भइसकेको उच्च स्रोतको दाबी छ । सो क्रममा दुवै पक्षबीच सेयर स्वाप रेसियो र कर्मचारी समायोजनमै कुरा मिल्न सकिरहेको छैन । 'तर दुवै बैंक संचालकहरु यी दुवै अप्ठ्यारा विषयमा सहमति खोज्ने गरी आवश्यक प्रयासहरु भइरहेका छन् ।' उच्च स्रोतले भन्यो-'छलफल निकै अगाडि बढेको छ । दुवै बैंकका संचालक केही उदार बन्न सके भने आगामी साता ग्लोबल आइएमई बैंकले फेरि अर्को सुखद खबर सुनाउनेछ ।' 

ग्लोबल आइएमई बैंकले सिभिल बैंकसँग समेत कुराकानी गरिरहेको छ । प्राइमसँग मर्जरको सहमति हुन नसकिरहेको अवस्थामा सेञ्चुरी बैंकका एमाले निकटका प्रमोटरहरुसँग समेत ग्लोबल आइएमई बैंकको छलफल भइरहेको बुझिएको छ । 

'चन्द्र ढकाल जी मेगा मर्जर गरी निकै ठूलो र मजबुत बैंकको अध्यक्ष बन्ने महत्वकांक्षा पूरा गर्ने अभियानमा हुनुहुन्छ ।' स्रोतले भन्यो-'उहाँको यो महत्कांक्षा यथार्थमा परिणत हुने संभावना पनि उत्तिकै छ ।' 

यसैबीच, मर्जरकै लहर चलिरहेको बेला हिमालयन बैंक लिमीटेड र कुमारी बैंकबीच पनि छलफल चलिरहेको छ । यी दुवै बैंक समेत मर्जरका धेरै इस्यूमा सहमति नजिक पुगेका उच्च स्रोतको दाबी छ । 

उता, मर्जरपछि सिनर्जी आउन नसकेको बैंक अफ काठमाण्डू लिमीटेडसँग समेत केही बैंकहरुले छलफल गरिरहेका छन् । तर, यो बैंक धेरैको रोजाईमा भने पर्न सकेको छैन । 

यस्तै, सनराइज बैंक र सिद्धार्थ बैंकका मारवाडी प्रमोटरहरु समेत मर्जरको छलफलमा जुटेका छन् । यी दुई बैंक समेत मर्ज हुने संभावना उत्तिकै छ । 
लक्ष्मी बैंकलाई समेत मिसाएर सनराइज र सिद्धार्थको प्रमोटरहरु ठूलो बैंक बनाउने अभियानमा छन् भने हिमालयन बैंकका केही संचालक भने लक्ष्मी र हिमालयन बैंकबीच मर्ज गराउने पक्षमा देखिएका छन् । 

ग्लोबल आइएमई बैंकले जनता बैंकसँग बिग मर्जरको सम्झौतासँगै अधिकांश वाणिज्य बैंक दवाबमा परेका छन् । यसकारण ती बैंकका संचालकहरु मर्जरको दौडधूपमा छन् । उपयुक्त पार्टनर खोजेर मर्जर गर्ने पक्षमा अधिकांश संचालक लागेको देखिएको छ ।