काठमाण्डौ । दोश्रो बजारमा सूचिकृत कम्पनीहरुले मर्जरको सम्झौता गरेलगत्तै ती कम्पनीको सेयर कारोबार रोक्का हुने व्यवस्था खारेजीको माग उठेको छ । 

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न सोमबार आयोजना गरेको कार्यक्रममा पूँजीबजारसँग सम्बद्ध निकायका प्रतिनिधिहरुले यस्तो माग उठाएका हुन् । 

दोश्रो बजारमा ७० प्रतिशत बढी हिस्सा ओगटेका बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको लहर चलेको र मर्जर सम्झौताका कारण बैंक तथा वित्तीय संस्थाको कारोबार धमाधम रोक्का भएका कारण यसले समग्र पूँजीबजारमै प्रभाव पार्ने भन्दै आगामी मौद्रिक नीतिबाट मर्जरको एमओयू लगत्तै कारोबार रोकिने व्यवस्थामा संसोधन हुनुपर्ने माग गरिएको हो । 

‘हामी(नेप्से)ले पनि मर्जरको एमओयू हुनेबित्तिकै कारोबार रोक्ने गरेका छौ, यो व्यवस्थामा संसोधन हुनुपर्ने देखिन्छ ।’ नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले भने–‘डिडिएको काम सकिएर स्वाप रेसियो निर्धारण भइसकेपछि कारोबार रोक्ने व्यवस्था हुनुपर्दछ । यसले सबैलाई सहज हुन्छ, नेप्सेको काममा पनि असर गर्दैन । लगानीकर्ताको पूँजी पनि बन्धकमा पर्दैन।’

स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले समेत मर्जरको एमओयू हुनेबित्तिकै सम्बन्धित कम्पनीको सेयर कारोबार रोक्का हुने व्यवस्था खारेजीको माग राखे । 

‘मर्जरमा जाँदै गर्दा सबै कम्पनीको सेयर कारोबार रोकिदिने हो भने अहिले ४०–५० करोडमा चलिरहेको दैनिक कारोबार घटेर १० करोडमा सीमित बन्न पुग्छ ।’ रानाभाटले भने–‘मर्जरमा जाने कम्पनीबीच एकीकृत कारोबार हुने अघिल्लो दिनसम्म सेयर कारोबार गर्न पाउने व्यवस्था गरिनुपर्छ । बरु बुक क्लोजजस्तै व्यवस्था गरी हप्ता–दश दिनको समय दिएर मर्जरपछिको एकीकृत कम्पनीको सेयर होल्डरको रुपमा कारोबार गर्न पाइने व्यवस्था गरियोस् ।’

एमओयू लगत्तै कारोबार रोक्का हुने व्यवस्था खारेज नभए हाल चलिरहेको मर्जरको लहरका कारण दोश्रो बजार चौपट हुने र यसले समग्र पूँजीबजार नै धराशायी बनाइदिने उनको दाबी थियो ।